३ भदौ/अर्थ र व्यापार– २५ मेगावाटको दर्वाङ्ग म्याग्दी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । म्याग्दीको दर्वाङ्ग बाबियाचौर गाउँपालिकामा निर्माण हुने दर्वाङ्ग म्याग्दी जलविद्युत आयोजनाको कर्जा लगानी सम्झौता भएको हो । परियोजनामा लगानी गर्न प्रवर्द्धक कम्पनी र बैंकहरुबीच सानिमा बैंकको अगुवाईमा कर्जा लगानी सम्झौता भएको छ । परियोजना निर्माण कालिका हाईड्रो लिमिटेडले गर्नेछ ।
३ भदौ/अर्थ र व्यापार– चिनियाँ प्राविधिकहरुले केरुङ–काठमाडौं जोड्ने रेल परियोजनाको पुर्व सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारेको छ । भदौ दोस्रो साता रिपोर्ट तयार पार्ने लक्ष्यका साथ चिनियाँ प्राविधिकहरुले अध्ययन थालेका थिए । त्यसको एक महिना अगावै रिपोर्ट तयार पारेको हो । रेलमार्ग संसारकै कठिनमध्ये एक भएको प्रतिवेदन देखाएको छ । यो रेल परियोजना निर्माणका लागि ३ खर्ब ५५ अर्व रुपैयाँ लाग्ने रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिए । सिडिई उपाध्यायका अनुसार ७२.२५ किलोमिटर लामो रेलमार्ग निर्माणका लागि ९ बर्ष लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । प्रतिवेदन अनुसार यो रेलमार्गको ९८.५ प्रतिशत पुल र टनेलमा निर्माण हुनेछ । बाँकी १.५ प्रतिशत मात्रै जमिनमा रहने छ । सिडिई उपाध्यायले सरकारले आफ्नै लगानीमा समेत यो रेल मार्ग निर्माण गर्न सकिने बताएका छन् । उनका अनुसार बार्षिक रुपमा २८.५५ अर्व रुपैयाँ बजेट छुट्याए पुग्ने बताए ।
१ भदौ/अर्थ र व्यापार– नेपालकै पहिलो ‘अण्डरपास वे’ कंलकीको भुमिगत बाटो आजदेखी सञ्चालनमा आउने भनेपनि सञ्चालनमा आउन सकेन । अण्डरपास निर्माण गरिरहेको चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सन कम्पनीले दूतावासको अनुमति नआएकोले अण्डरपास संचालनमा ल्याउन नमिल्ने जानकारी दिएको हो । सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठले शुक्रबार विहानदेखि अण्डरपास संचालनमा ल्याउने तयारी गरेका भएपनि कन्स्ट्रक्सन कम्पनीले राजदूतावासको निर्देशन पाएपछि खोल्छौं भन्ने जानकारी आएपछि अण्डरपास संचालनलाई केही पर सारेको बताए । हामी आज शुक्रबारनै चिनियाँ दूतावासमा पत्र पठाउने जानाकारी दिए ।
३१ साउन/अर्थ र व्यापार– गत मंगलबार ईतिहासमै सबैभन्दा कमजोर बनेको नेपाली रुपैयाँ बिहीबार झनै कमजोर बनेको छ । बिहीबारका लागि राष्ट्र बैंकले एक डलरको भाउ ११२ रुपैयाँ १४ पैसा तोकेको थियो । तर बिहीबार बैंकहरुले एक डलर ११२ रुपैयाँ ८० पैसासम्म कारोबार गरेका छन् । भारतीय मुद्रा कमजोर भएपछि नेपाली रुपैयाँको भाउ अरु सस्तिन पुग्यो । बिहीबार बजार खुलेपछि नेपाल एसबिआइले एक डलर बराबर ११२ रुपैयाँ ८० पैसासम्म कारोबार गरेको छ । नबिलले ११२ रुपैयाँ ६० पैसा, ग्लोबल आइएमइ ११२ रुपैयाँ ५५ पैसा र एभरेष्ट बैंक ११२ रुपैयाँ ७० पैसामा कारोबार गरेका छन् । डलरको मूल्य वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ । नेपाल राष्ट्र बैंकको बैशाखसम्मको तथ्यांक अनुसार नेपालमा ६ खर्ब ६ खर्ब ८५ करोड रुपैयाँ भित्रिएको छ ।
३१साउन/अर्थ र व्यापार– नेपालकै पहिलो ‘अण्डरपास वे’ कंलकीको भुमिगत बाटो भोली शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । काठमाडौं चक्रपथ सुधार योजना प्रमुख प्रकाशचन्द्र भण्डारीले शुक्रबारदेखि अण्डरपास वे संचालनमा ल्याउने बताए । दुई वर्ष अघि चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले अण्डरपास निर्माण थालेको थियो । अण्डरपास संचालनमा आएपछि कंलकीको जाम कम हुने अपेक्षा गरिएको छ । ८ सय मिटरको यो बाटो कंलकी चोकबाट खसीबजार तर्फ चार सय र कंलकी चोकबाट सितापाइलातर्फ चार सय मिटर अण्डरपास छ । अण्डरपासको सडक पेन्टिङ र लेन छुट्याउने लगायतका काम भने बाँकी छ । अहिले बनिरहेको अण्डरपास’ चक्रपथ हिड्ने सवारीसाधनले प्रयोग गर्ने छ।अण्डरपास चार लेनमा निर्माण भैरहेको छ । दुईवटा लेन आउन र दुईवटा लेन जानका लागि प्रयोग हुन्छ ।
३१ साउन/अर्थ र व्यापार– सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुशील ज्ञवालीलाई पुनः नियुक्त गरेका छन् । यसअघि प्रचण्ड सरकारको पालामा बर्खास्तीमा परेका ज्ञवालीलाई मङ्गलबारको मन्त्रिपरिषद्को निर्णयअनुसार बिहिवार दोस्रो पटक यो पदमा नियुक्त गरिएको हो । विसं २०७२ वैसाख १२ गतेको भूकम्पबाट भएको क्षतिको पुनः निर्माणका लागि प्राधिकरणको गठनसँगै ज्ञवाली ३ बर्षभित्र दोस्रो पटक प्राधिकरणको जिम्मेवारी सम्हाल्दै छन् ।
३० साउन/अर्थ र व्यापार– मेगा बैंक नेपाल लिमिटेड र नारायणी अटो बिजनेश प्रालिबीच किस्तामा गाडी कर्जा उपलब्ध गराउन सम्झौता भएको छ । सम्झौता पत्रमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नारायणी अटो बिजनेशका प्रबन्ध निर्देशक अनुपकुमार बरालले हस्ताक्षर गरेका छन् । नारायणी अटोबाट गाडी किन्न चाहने ग्राहकहरुलाई मेगा बैंकले १० बर्षसम्म वित्तीय सुविधा प्रदान गर्ने छ । ग्राहकहरुले साढे १२ प्रतिशतमा अटो लोन लिन सक्नेछन् ।
२९ साउन/अर्थ र व्यापार–नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५मा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपण गरेको छ । गत आवमा प्राधिकरणको संचालन मुनाफा ७ अर्व ८६ करोड रुपैयाँ छ । गत आवको अन्य वित्तीय खर्चहरु कटौती गरेपछि खुद मुनाफा आउँछ । प्राधिकरणको संचित नोक्सानी अझै २८ अर्ब १२ करोड रुपैयाँ रहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि अहिले प्रक्षेपित वार्षिक खुद नाफा अझै बढ्न सक्ने बताए । चुहावट नियन्त्रणबाट प्राधिकरणलाई झण्डै ४ अर्ब रुपैयाँ थप आम्दानी भएको छ । गत वार्षिक उत्सवमा आव २०७३/७४को प्राधिकरणको खूद नोक्सानी ९७ करोड ८९ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएकोमा अन्तिम लेखा परीक्षणपछि खुद नाफा १ अर्ब ५१ करोड रुपैयाँ देखिएको थियो ।
२८ साउन/अर्थ र व्यापार– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक तथा पुल निर्माणमा ढिलाई गर्ने देशभरका डेढ सय भन्दा बढी निर्माण कम्पनीहरु कारवाहीमा गरेका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक निर्माणका क्रममा ठेकेदार कम्पनीहरुले गर्ने ढिलाई अब अन्त्य हुने बताउदै, निर्माण ढिला गर्नेको ठेक्का रद्द समेत गर्ने बताएका हुन् । मन्त्री महासेठले महासेठले अन्य निर्माण कम्पनीहरुलाई पनि भदौ १२ गतेसम्म काठमाडौं उपत्यका भित्रका सडक निर्माण गरीसक्न निर्देशन दिएकोे बताए । केही निर्माण कम्पनीलाई अन्तिम चेतावनी दिइएको र अन्तिम पटक समय उपलब्ध गराउँदा पनि निर्माण हुन नसके जरिवानासहित ठेक्का पनि रद्ध गर्ने उनको भनाई थियो । साथै मन्त्री महासेठले यातायात क्षेत्रको एकाधिकार अन्त्य गर्ने र ठेकेदार कम्पनीलाई कारबाही गर्ने विषयमा गृहमन्त्रीसँग आफ्नो कुनै मनमुटाव नभएको प्रष्ट्याए ।
२७ साउन/अर्थ र व्यापार – सरकारले ठूला परियोजनामा लगानी जुटाउने लक्ष्यका साथ स्थापना गरेको लगानी बोर्डले हालसम्म करीब रु ६ खर्ब बराबरका डेढ दर्जन परियोजनाको काम अघि बढाएको छ । ठूला परियोजनामा लगानी जुटाउने लक्ष्यका साथ सरकारले २०६८ सालमा बोर्ड स्थापना गरेको हो । बोर्डले प्रवद्र्धन गरेका केही परियोजना निर्माणको चरणमा तथा केही निर्माण प्रक्रियामा छन् । बोर्डले जलविद्युत्मा ५०० मेगावाटभन्दा ठूला आयोजनाको संयोजन गरिरहेको छ । रु दश अर्बभन्दा माथि लगानी हुने आयोजना समेत बोर्डको कार्यक्षेत्रमा रहेको छ । लामो समयदेखि चर्चामा रहेको पश्चिम सेती बोर्डले नै संयोजन गरिरहेको छ । सो आयोजनाको लागत रु एक खर्ब ६० अर्ब रहेको छ । चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता भएको सो आयोजनाको निर्माण चाँडै थालिनेछ ।
२७ साउन/अर्थ र व्यापार– कानुनले नेपालीलाई बिदेशमा सम्पती खरिद गर्न दिदैन तर तीन दिनदेखि दुवईको घरजग्गा मेला दरवारमार्ग स्थित पाँचतारे होटल डेला अन्नपूर्णको ‘ब्याकेट हल’ मा जारी छ । कम्पनीले अघिल्लो पटक पनि राजधानीको ह्यात होटलमा यस्तै मेलाको आयोजना गरेको थियो । डम्याक कम्पनीको एकोया अक्सिजन नामक रियलस्टेट कारोबार गर्ने संस्थाले दुवईको अपार्टमेन्ट र इन्डिभिज्युल होम(भिल्ला) बिक्रीका लागि मेला गरिरहेको छ । शुक्रवार देखी जारी मेला आइतबारसम्म चल्नेछ । आयोजकका अनुसार सयौं नेपाली नागरिकहरुले दुवईमा बस्न र लगानीका लागि अपार्टमेन्ट र भिल्ला बुकिङ गरिसकेका छन । अहिले कम्पनीले ६ लाख रुपैयामा धमाधम प्रि-बुकिङ लिइरहेको छ ।
२४ साउन/अर्थ र व्यापार– पिच उप्किने समस्या दोहोरिन थालेपछि नेपाल नागरिक उड्डयन प्राधिरकणले अन्तर्रा्ष्ट्रिय हवाई सेवा प्रदायक कम्पनीहरुलाई साना जहाज मात्रै नेपाल ल्याउन आग्रह गरेको छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको धावनमार्गको पिचमा पटक पटक समस्या देखिन थालेपछि प्राधिरकणले साना जहाजमार्फत उडान गर्न हवाई सेवा प्रदायकलाई भनेको हो। बुधबार प्राधिकरण, विमानस्थल र अन्तर्रा्ष्ट्रिय वायुसेवा सञ्चालक संघबीचको छलफलमा प्राधिकरणले धावनमार्गको पुनर्निर्माण नहुदासम्म साना जहाज मात्रै ल्याउन भनेको आग्रह गरेको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका प्रमुख इन्जिनीयर मुरारी भण्डारीले जानकारी दिए। अहिले ठूला जहाजको अधिक उडान अवतरण भइरहेको कारणले धावनमार्गको दैनिक उडान अवतरण दबाब थेग्न सक्ने अवस्था नरहेको उनले जानकारी दिए । विमानस्थल र प्राधिकरणले ठुलाको साटो सानो जहाज ल्याउन अनुरोध गरेपछि उडान तथा अवतरण तालिकासमेत परिवर्तनको तयारी थालिएको छ ।
२४ साउन/अर्थ र व्यापार– अन्तत दुई हप्ता लामो वार्तापछि सौर्य एयर ६७ करोडमा बिक्रि भएको छ । गैरआवासीय नेपाली (एनआरएन) श्याम अधिकारीसहितको समूहले ६७ करोड रुपैयाँमा सौर्य एयरको व्यवस्थापन जिम्मा लिएको हो । सौर्यका अध्यक्ष दीपक पोखरेलले श्याम र उनको समूहले ६७ करोडमा सौर्यको जिम्मेवारी लिएको पुष्टि गरे । नयाँ समूहले बैङ्कको ५५ करोड र गैरबैङ्किङ दायित्व १२ करोड सकारेको छ । नयाँ व्यवस्थापनसित बुधबार राति कम्पनी बिक्रीको सम्झौंतापत्रमा हस्ताक्षर भएको पोखरेलले जानकारी दिए ।
२४ साउन/अर्थ र व्यापार– जयनगर–जनकपुर रेलमार्गको परीक्षण सुरु भएको छ । बुधबार जयनगरदेखि–खजुरी करिव ९ किलोमिटर खण्डको परीक्षण गरिएको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभकत उपाध्यायले जानकारी दिए । उनका अनुसार आज थप १० किमी खण्डको थप परीक्षण भैरहेको छ । यसपछि बाँकी सबै खण्डको परीक्षण गरिने रेल विभागले जनाएको छ ।
जापानमा बिगत १० बर्ष देखि आयोजना हुँदै आएको ११ औं नेपाल फेस्टिबल आगामी अगष्ट २५ र २६ तारिखमा टोकियोको सेतागाया कु स्थित कोमाजावा ओलम्पिक
१८ साउन/अर्थ र व्यापार– विवादित अभिव्यक्तिका कारण शेरबहादुर तामाङले राजीनामा दिएपछि खाली रहेको कानुन मन्त्रीमा भानुभक्त ढकाल नियुक्त हुने भएका छन् । ढकालले यसअघि तत्कालीन एमालेलको संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरेका थिए । ढकालको अध्ययन पनि कानुननै हो । ढकालको नाम यसअघि सञ्चारमन्त्रीमा चर्चा गरिए पनि प्रदेश १ बाट लालबाबु पण्डित मन्त्री भइसकेको भन्दै पन्छाइएको थियो । मोरङ ३ बाट निर्वा्चित ढकाल पार्टीमा संस्थापन पक्ष निकट छन्। तेह्रथुमका ढकाललाई मोरङबाट चुनाव लडाइएको हो । ०७० मा उनी समानुपातिक कोटाबाट संविधानसभा सदस्य बनेका थिए । त्यसैगरी संघीय समाजवादी फोरम नेपालको भागमा परेको स्वास्थ्य मन्त्रालयमा डा. सुरेन्द्र यादवलाई राज्यमन्त्री बनाइँदैछ । यादव महोत्तरी ४ बाट विजयी भएका हुन् ।
१८ साउन/अर्थ र व्यापार– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मन्त्रीस्तरीय निर्णयबाट २१ जना सहसचिवको सरुवा गरेका छन् । सामान्य प्रशासनका अनुसार अर्थ मन्त्रालय र मातहतका निकायबाट ४ सहसचिव सरुवा भएको छ । सरुवापछि अर्थ मन्त्रालयमा कसैलाई पनि भित्र्याइएको छैन। अर्थ मन्त्रालयको तत्कालीन अन्तर सरकारी वित्त व्यवस्थापन महाशाखा बजेट तथा कार्यक्रम महाशाखासँग गाभिएपछि प्रमुख हरिप्रसाद बस्यालको सरुवा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छ । यसैगरी कर कार्यालय क्षेत्र नं १ का तत्कालीन प्रमुख झलकराम अधिकारीको वन तथा वातावरण मन्त्रालयमा सरुवा भएको छ । अर्थ मन्त्रालयअन्तर्गत नै महालेखा नियन्त्रकको कार्यालयका सहमहालेखा नियन्त्रक सुशील पाण्डेको सरुवा प्रदेश सभा सचिवालय प्रदेश नं १ मा भएको छ । यस्तै केही दिनअघि महालेखा नियन्त्रको कार्यालयमा सरुवा भएका मुकुन्दराज पन्थीको लोकसेवा आयोग वा अन्तर्गत रहने गरी काज सरुवा गरिएको छ ।
१७ साउन/अर्थ र व्यापार– तीन वर्षदेखि मुआब्जा विवादले सडक विस्तारको कार्य रोकिएको कंलकी–नागढुंगा सडकखण्डमा कालोपत्रे हुने भएको छ । उपत्यका सडक विस्तार आयोजनाका अनुसार सडकले चर्चेको भागमा मात्रै कालोपत्रे गरिनेछ । भौतिक,पूर्वाधार तथा यातायात मन्त्रालयले विवाद नसल्टिएकाले यथास्थितीमै कालोपत्रे गर्नका लागि मन्त्रिपरिषदमा प्रस्तावमा मन्त्रिपरिषद्ले कंलकी-नागढुंगा र बौद्ध-जोरपाटी सडक यथास्थितीमै कालोपत्रे गर्ने प्रस्ताव स्वीकृत गरेको थियो। मन्त्रालयका सचिव मधुसुदन अधिकारीले मन्त्रिपरिषदले स्वीकृत गरिसकेकोले तत्कालै कालोपत्रे गर्ने प्रकृया अघि बढाइने बताए ।
१७ साउन/अर्थ र व्यापार– वीरगञ्ज भन्सारमा जाँचका क्रममा गहुँको बोराभित्र करीब दुई लाख रुपैयाँ मूल्य बराबरको अवैध कपडा पक्राउ गरिएको छ । भारतको रक्सौलबाट नेपालतर्फ आइरहेको बि आर ६ एल ३८७६ नम्बरको कारमा गहुँको बोराभित्र करीब दुई लाख रुपैयाँ मूल्य बराबरको अवैध कपडा पक्राउ गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्म वीरगञ्जका सशस्त्र प्रहरी उपरीक्षक तिलक खड्काले आज बिहान जाँचको क्रममा सियाराम कम्पनीको ३२६ मिटर सुटको कपडा पक्राउ गरेको बताए ।
१७ साउन/अर्थ र व्यापार– एसियाली विकास बैंक (एडिबी)ले खानेपानी र नागरिक उड्डनसँग सम्बद्ध आयोजना कार्यान्वयनमा सोचेअनुरुप प्रगति हुन नसकेको भन्दै आवश्यक सुधारका लागि सरकारले हस्तक्षेप गर्नुपर्ने बताएको छ । एडिबी, नेपाल सरकार र सम्बन्धित आयोजनाबीचको त्रिपक्षीय समीक्षा बैठक (ट्रिपार्टाइट पोर्टफोलियो रिभ्यू मिटिङ)को उदघाटन सत्रमा एडिबीका डेपुटी डाइरेक्टर जनरल दिवश शरणले ती आयोजनामा अहिलेकै रफ्तारमा काम हुँदा समयमै सम्पन्न हुन सक्ने अवस्था नरहेकाले सरकारले विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।
१६ साउन/अर्थ र व्यापार– उद्योगहरुले आफ्नो वार्षिक प्रगति विवरण अनिवार्य रुपमा उद्योग विभागलाई बुझाउनुपर्न भएको छ । औद्योगिक व्यवसाय ऐन, २०७३ मा प्रत्येक उद्योगले व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गरेपछि तोकिए बमोजिमको विवरण प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र विद्युतीय माध्यमबाट समेत पेश गर्न सकिने व्यवस्था छ । उद्योगहरुले अबदेखी अनिवार्य रुपमा उद्योगको वार्षिक प्रगति विवरण विभागमा दिनुपर्ने उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले जानकारी दिए । उद्योग विभागले उद्योग सञ्चालनको वार्षिक विवरण अनलाइनमार्फत विभागमा पठाउन सकिने गरि इण्डष्ट्रिएल स्टाटिस्टिक इन्ट्री सिस्टम तयार पारेको छ ।
१६ साउन/अर्थ र व्यापार–सर्वोच्चबाट अल्पकालीन अन्तरिम आदेश जारी भएका विभिन्न संस्थान तथा बोर्डका पदाधिकारीका मुद्दा सर्वोच्च प्रशासनले स्थगित गरेको छ । यसअघि अन्तरिम छलफलका लागि अदालत स्वयंमले तोकेको मितिमा प्रशासनले पेसी स्थगित गरेको हो । कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइ प्रक्रिया जारी रहेको अवस्थामा अदालत प्रशासनबाटै सरकार विपक्ष भएका मुद्दा स्थगित भएका हुन् । बुधबार अन्तरिम छलफलका लागि बोलाइएका डा. भूपेन्द्र प्रसाद, गंगाधर पराजुली, विमल कुमार निरौला, लिलाराम शर्मा र चन्द्रसिंह साउदका मुद्दा सर्वोच्चले नै दैनिक पेसीबाट स्थगित गरेको हो ।
१५ साउन/अर्थ र व्यापार– मलेसियाको संसदमा मलेसियामा काम गर्न चाहने नेपाली कामदारहरुको समस्याको बिषयमा छलफल भएको छ । नेपालले कामदार पठाउन रोक लगाउने निर्णयमाथि मलेसियाको संसदमा छलफल भएको हो । आगामी शुक्रबार बस्ने मन्त्रिपरिषदको बैठकमा नेपालको निर्णयबारे छलफल हुने मलेसियाका मानव संशाधनमन्त्री एम कुलशेगरनले बताएका छन् । मन्त्रिपरिषदको बैठकले पछिल्लो समस्या समाधानका लागि आवश्यक कदम चाल्ने निर्णय लिने समेत बताएका छन् ।
१४ साउन/अर्थ र व्यापार– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपालका लागी इजरायली राजदूत बेन्नी ओमेरबीच भेटबार्ता भएको छ । भेटमा इजरायली राजदूत ओमेरले, इजरायल उर्जा र सिंचाईको क्षेत्रमा पनि सहकार्य गर्न आतुर रहेको बताएका हुन् । नेपालको कृषि क्षेत्र आधुनिकीकरणमा सहकार्य गरिरहेको छ ।
१४ साउन/अर्थ र व्यापार– नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको पहिलो नयाँ जहाज 'अन्नपूर्ण'लाई आइतबार एयर अपरेशन सर्टि्फिकेट (एओसी) दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको चरणबद्ध अध्ययन सकिसकेपछि अन्नपूर्णलाई एओसी दिइएको प्राधिकरणका उप–महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।