नेपालमा पर्यटन क्षेत्रको प्रचुर सम्भावना छ वा भनौं नेपाल पर्यटनकै कारण समृद्ध बन्न सक्छ भन्ने भनाईहरु सुन्न र भनिन थालेको पनि एक दशक भन्दा बढि भईसकेको छ । तर पर्यटन भने एक दशक अगाडी भन्दा झन पछाडी धकेलिएको अनुभव हुन थालेको छ । राज्यको निति निर्माण तहका निकाय र अधिकारीहरुले पनि पर्यटन क्षेत्रको विकासका लागी गफ ठोकेको वर्षौ भईसकेको छ तर पर्यटन भने जस्ताको तस्तै ।
आखिर पर्यटन क्षेत्रको अपेक्षाकृत विकास हुन नसक्नुका पछाडी केहि समस्या पक्कै छन । यस लेखको उद्देश्य यसरी वा त्यसरी पर्यटन क्षेत्रको विकास हुन सक्छ भन्ने वर्षौं देखि सुनिँदै आएको गफमा भन्दा पनि आखिर किन सवैले भनेजस्तो पर्यटन क्षेत्र माथि उकासिन सकेको छैन त भन्ने समस्याहरुको पहिचानमा केन्द्रित छ । विषयबस्तुलाई स्पष्टताका साथ राख्ने उद्देश्यले बुँदागत रुपमा राख्न चाहन्छु ।
१) वास्तवमा नेपालमा पर्यटन क्षेत्रको सम्भावना के हो र पर्यटन वाटै मुलुक कसरी समृद्ध बन्न सक्छ भन्ने स्पष्ट धारणा हाम्रा राजनीतिक नेतृत्व तहमा विकास भएकै छैन । यसको स्पष्ट उदाहरण पर्यटन मन्त्री नियुक्त भएको एक दुई हप्ता भित्र हाम्रा मन्त्री ज्युहरुले बोल्ने कुराले स्पष्ट गर्छ । यसको अर्थ के हो भने हाम्रा राजनीतिक नेतृत्वलाई पर्यटनको सम्भावनाको स्पष्ट चित्र देखाउन सकिएको छैन । यसले गर्दा राजनीतिक नेतृत्वले पर्यटनलाई सम्भावनको क्षेत्र भनेर भनेपनि वास्तवमै आफ्ना योजनाहरुमा पर्यटनलाई प्राथमिकता दिन सकिरहेका छैनन ।
२) आजका दिनसम्म पर्यटन मन्त्रालय आकर्षक मन्त्रालय बन्न सकेको छैन । मन्त्री बन्ने कुनै पनि व्यक्ति सकेसम्म पर्यटन मन्त्रालय रोज्न चाहँदैन । त्यसमाथि पर्यटन क्षेत्रै नवुझेको व्यक्ति पर्यटन मन्त्री भएर उसले नितीगत रुपमा पर्यटनमा छलाङ मार्न सक्दैन । हामीकहाँ भएको त्यहि हो । त्यसमाथि पर्यटन क्षेत्रमा रहेका झन्झटिला ऐन र निति नियमले बारम्वार समस्या ल्याईरहेको छ ।
३) सवैभन्दा महत्वपूर्ण प्रश्न हवाई उड््ड्यन क्षेत्रमा छ । एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनु, त्यसमा पनि अव्यवस्थित र असुरक्षित । अर्कोतिर विश्वभर नेपाली आकाश सुरक्षित छैन भन्ने किसिमका सन्देश हरु प्रवाहित भईरहँदा पनि सरकारले त्यसलाई चिर्न सकेको छैन । अर्कोतिर कमजोर राष्ट्रिय ध्वजाबाहकको अवस्थामा सुधार नआई जतिसुकै गफ गरेपनि पर्यटन विकास सम्भव छैन ।
४) पर्यटनमा सवैभन्दा महत्वपूर्ण विषय अन्तर्राष्ट्रिय स्तरको प्रवद्र्धन नै हो । तर पर्यटन प्रवद्र्धनको वागडोर समातेको नेपाल पर्यटन वोर्डले आजका दिनसम्म अपेक्षाकृत काम गर्न नसकेकै हो । पर्यटन वोर्ड आजका दिनसम्म पनि नेता र मन्त्रीका गोजिवाट नियुक्त हुने सदस्य र व्यवस्थापनकमा रहेका गलत र अयोग्यहरुको सिकार बन्दै आयो । अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवद्र्धनमा वोर्डले भुमिका खेल्न नसकेकै हो । विश्व पर्यटन वजारमा आएको नयाँ ट्रेण्ड र त्यसअनुरुपको हाम्रो प्रवद्र्धनात्मक रणनीति नभईकन नेपालले विश्व वजारमा आफ्नो उपस्थिति जनाउन सक्दैन । हामीसंग जे–जे छन, तिनैलाई दह्रो ढंगले प्रवद्र्धनमा लैजानै पर्छ । प्रक्रिया त मिलाउने हो,खालि सरकार र नीति नियमलाई मात्र दोष दिएर हुँदैन ।
५) नेपालको पर्यटन क्षेत्र आजका दिनसम्म नीजि क्षेत्रले नै अग्रणी भुमिका खेलेका कारण यहाँसम्म आईपुगेको हो । सुरुमा दरवार र दरवार निकटका व्यक्तिहरुमात्र पर्यटन क्षेत्रमा सक्रिय रहेकोमा आजका दिनसम्म सामान्य व्यक्तिहरु सफल व्यवसायिका रुपमा स्थापित भएका छन । यो अत्यन्तै सकारात्मक विषय हो । तर यसविचमा पर्यटन क्षेत्रमा केहि एकदमै गलत प्रवृत्ति हावि भएर गयो । तत्कालिन लाभका निम्ति जे–जस्ता कामहरु गर्न पनि व्यवसायिहरु अगाडी बढे । पर्यटन क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा यसरी बढेर गयो कि जसलाई रोक्न त्यति सजिलो छैन । यसको उदाहरण पर्यटकहरुको उद्धारका नाममा विगतका केहि वर्षहरुमा जे–जस्ता काम भए,त्यसैलाई हेरे पुग्छ । अर्कोतिर गत बैशाखमा गएको भुकम्प पछि पर्यटन क्षेत्रमा आवद्ध व्यक्तिहरुले विश्वभर जे–जस्ता सन्देशहरु पु¥याए,त्यसैको सिकार आज सिंगो पर्यटन क्षेत्र नै बनेको छ ।
६) आजभन्दा दश वर्ष अगाडी हामीकहाँ जे–जस्ता पर्यटकिय गन्तव्यहरु थिए,आज पनि त्यहि छन । यसविचमा केहि नयाँ गन्तव्यहरुको विकासमा पहल हरु नभएका होईनन, तर तिनलाई अझै पनि उत्कृष्ठ गन्तव्यको रुपमा स्थापित गर्न सकिएको छैन । यसमा कसैलाई दोष मात्र लगाउने वा सरकारले गरेन मात्र भन्ने भन्दा पनि सवैको सकारात्मक पहल आवश्यक छ ।
७) पर्यटन मात्र एउटा यस्तो क्षेत्र हो,जहाँ कुनै किसिमको सरकारी नियमन नै छैन । जसलाई जे मन लाग्यो,त्यहि गर्ने छुट छ । पर्यटकलाई दिईने सेवाको कुनै मापदण्ड र शुल्क छैन । तिरेको शुल्क अनुसार पर्यटकले सेवा पायो वा पाएन वा पाएन भने उसले कहाँ गएर के भन्ने त ? यसको लागी सरकारी नियमन र सेवाको स्तरको तह तोकिनु आवश्यक छ ।
तपाईको प्रतिक्रिया