२८ कात्तिक/अर्थ र व्यापार- निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई सरकारले पूर्ण सुरक्षाको प्रत्याभुति गराउन नसकेको बताए ।
आगजनीमा संलग्नलाई अझै कारबाही नभएको भन्दै उनीहरुले तत्काल कारबाहीको माग समेत राखेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठले निजी क्षेत्र अहिले चुनौतीपूर्ण परिस्थीतिबाट अघि बढ्नुपरेको बताए । उनले गत वर्षका सूचकहरु हेर्दा अर्थतन्त्र सकारात्मक देखिएपनि अहिले अत्यन्तै अप्ठ्यारो स्थितिको सामना गर्नुपरिरहेको बताए । उनले आन्दोलनका कारण फरक परिस्थिति सिर्जना भएको भन्दै व्यक्तिवादी आक्रमणलाई राज्यले छुट दिन नहुने बताए ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले जेनजी पुस्ताले गरेको आन्दोलनपछि मुलुक चुनावतर्फ अग्रसर भएको भन्दै यसलाई सकारात्मक रुपमा हेरिनुपर्ने बताए । भ्रष्टाचार निवारण, परदर्शीता, नीतिगत स्पष्टता आफूहरुको समेत उठाउँदै आएको बताउँदै जेनजीहरु उठाउँदै आएका मागहरु पूरा हुनुपर्नेमा जोड दिए । पाण्डेका अनुसार नयाँ सरकार गठनसँगै राष्ट्र बैंकले लिएका पछिल्ला नीतिहरुले समेत त्यो सन्देश दिएको छ । जेनजी आन्दोलनले पारेको असरलाई समेत समेटेर परिसंघले अध्ययन समेत गरिरहेको उनले बताए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले जेनजी आन्दोलनपछि लगानीकर्तामा निराशा छाएको बताए । उनले सरकारले तत्कालै सुरक्षाको प्रत्याभुति गर्न जरुरी रहेको बताउँदै राष्ट्र बैंकले समेत प्रभावकारी नीति अंगिकार गर्नुपर्नेमा जोड दिए । चेम्बर अध्यक्ष अग्रवालले भने–‘लगानीको आकर्षण बढाउन सरकारले सुरक्षाको प्रत्याभूति गराउनुपर्छ । हामीले प्रधानमन्त्री, अर्थमन्त्रीलाई पनि भनिसकेका छौं । तत्कालै हामीलाई सुरक्षाको प्रत्याभुति चाहियो । विदेशीलाई मात्रै नभई स्वदेशी लगानीमा पनि इभेस्टमेन्ट प्रोटेक्सन पोलिसी अब सरकारले लिनुपर्यो । बीमा सहीत सबै त्यसमा पर्नुपर्यो । अहिले राजीतिक स्थीरता पनि जरुरी छ । राजनीतिक स्थायीत्व हुन जरुरी छ । नीतिगत स्थायित्व पनि जरुरी छ ।’
तपाईको प्रतिक्रिया