१५ असार/अर्थ र व्यापार- राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत आ.ब. २०८३/८४ को बजेटबाट अपेक्षा र कार्यान्वयनका चुनौती” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विगतका अभ्यासहरु हेर्दा वजेट पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको वताए ।
आयोगका सदस्य प्रा.डा.आचार्यले लगानीको वातावरण बनाउन आन्तरिक श्रम व्यस्थापन र उत्पादकत्व बढाउने किसिममा कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिए । उनले दक्षिण एशियामै नेपालको श्रमिकको उत्पादकत्व न्युन रहेको उल्लेख गर्दै उत्पादनशील क्षेत्रमा लगानीको वातावरण कमजोर देखिएको वताए । त्यसैले युवा पुस्तालाई प्रविधि संग जोड्न र उत्पादकत्व बढाउने तर्फ सरकारले पहल गरेपनि अझै धेरै पहल गर्नु जरुरी रहेको उनको भनाई थियो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले ठूलो आकारको वजेट कार्यान्ययन गर्न कठिन हुने र विश्वास गर्न सकिने अवस्था नरहेको वताए । बजेट लगानीमुखी र उत्पादनमुखी हुनुपर्नेमा कतिपय नितिगत झमेला रहेको उनले वताए । बजेटमा कतिपय आवश्यक कार्यक्रमहरु नआएको समेत उनले उल्लेख गरे । विशेषगरी युवालाई नागरिकताको आधारमै सहुलियत ऋण दिनुपर्ने, बाँझो जमिनलाई उपयोग गरि उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमहरु ल्याउनुपर्ने, स्कुल कलेज पढ्ने विद्यार्थीलाई पार्ट टाईम जबको निती ल्याउनुपर्नेमा त्यसो हुन नसकेको उनले वताए । त्यसबाहेक सरकारले व्यवसायी तर्साउने गतिविधि गरेको कारण वर्तमान सरकारसंग निजी क्षेत्र डराएकोले बजेटको लक्ष्य हाँसिल गर्न सहज नभएको उनले वताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेश लाल श्रेष्ठले अहिले आर्थिक गतिविधि ठप्प रहेको, दैनिक दुई हजार युवा विदेशीरहेको अवस्थामा युवालाई नेपालमा रोक्ने निती सरकारले ल्याउन नसकेको वताए । उनले नेपालमा उत्पादकत्व बढाई विदेशवाट खाद्यान्नको आयात रोक्न सकेमा त्यसपछि मात्र स्वदेशी उत्पादनले वजार पाउने र देशभित्र अर्थतन्त्र चलायमान हुनेमा जोड दिए । श्रेष्ठले निजी क्षेत्र आशावादी हुन नसकेको र व्यवसायीहरु लगानी बढाउने अवस्थामा नरहेको समेत उल्लेख गरे । सरकारले पर्यटन, उर्जा र कृषिमा महत्व दिन नसकेको उनले वताए । “बजेट कार्यान्वयनका निम्ति पनि पुरानै संरचना र शैली कायम रहेकोले बजेट कार्यान्वयनमा सुधार हुने अपैक्षा गर्न सकिँदैन”–श्रेष्ठले भने ।
त्यसैगरी नेपाल बैंकर्स एशोशियसनका पूर्व अध्यक्ष भुवन कुमार दाहालले आर्थिक वृद्धिदरको ७ प्रतिशतको लक्ष्य नै ठूलो नभएकोले कमसेकम सरकारले दोहोरो अंकको आर्थिक बृद्धिदरको लक्ष्य राख्नुपर्ने वताए । सरकारका प्रत्येक मन्त्रीलाई बैदेशिक लगानी नेपाल भित्र्याउन टार्गेट दिईनुपर्ने उनको सुझाव छ । तर वर्तमान सरकारको सय वुँदे कार्यक्रम र वजेट हेर्दा सुशसानका सन्दर्भमा आशावादी हुन सकिने प्रशस्त ठाउँ रहेका उनले वताए ।
कार्यक्रमममा क्याम्पस प्रमुख राजेन्द्र केसीले बजेटमा आएका सकारात्मक र सुधार गर्नुपर्ने विषयमा चर्चा गर्दै आम युवाहरुलाई नेपालमै रोक्ने र काम गर्ने वातावरण सरकारले ल्याउन नसकेको वताए । कार्यक्रमममा सहायक क्याम्पस प्रमुख डा.हरिसिंह केसीले वजेटमा उल्लेख भएका कार्यक्रमहरु कार्यान्वयनमा जाँदा कठिनाईहरु देखिएको वताउँदै सरकारले कार्यान्वयनमा जोड दिनुपर्ने वताए । कार्यक्रमको सहजीकरण पत्रकार नविन काफ्लेले गरेका थिए भने कार्यक्रमको सञ्चालन कलेजका कोअर्डिनेटर राजेन्द्र लामिछानेले गरेका थिए ।
तपाईको प्रतिक्रिया