२५ साउन / अर्थ र व्यापार- आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल चुनावी प्रतिस्पर्धामा होमिएको छ । एभरेष्ट मिराकल ट्राभल्स एण्ड टुर्सका प्रबन्ध निर्देशक समेत रहेका पाण्डे ‘सशक्त नाट्टा, समृद्ध पर्यटनः सदस्यसँगै, सदस्यका लागि’ भन्ने नाराका साथ प्यानल सहित चुनावी मैदानमा उत्रिएका हुन् ।
अध्यक्षका प्रत्याशी पाण्डेले आफ्नो समुहमा व्यवसायीक रुपमा सफल व्यक्तिहरु रहेको र व्यवसायका वास्तविक समस्या र ति समस्याका समाधानका वारेमा राम्रो ज्ञान भएको कारण नाट्टाका सदस्यहरुले आफ्नो समुहलाई मत दिने विश्वास व्यक्त गरे । आफ्नो समुहमा टिकेटिङ, टुर लगायत सवै विधाका उम्मेदवारहरु रहेको र टिम समावेशी समेत रहेको पाण्डेले बताए ।
पाण्डे प्यानलको वरिष्ठ उपाध्यक्षमा सोसाइटी ट्राभल सर्भिसका सुनिल शर्मा, उपाध्यक्षमा एरो ट्राभल एण्ड टुर्सकी सबिता केसी भट्टराई र महासचिवमा वल्र्ड फेभर ट्राभल एण्ड टुर्सका राजकुमार देवकोटाले उम्मेदवारी दिएका छन् । त्यसैगरी सचिवमा रुप्से होलिडेजका रमेश पराजुली, कोषाध्यक्षमा थामसेर्कु ट्राभलकी डिकी शेर्पा र सह–कोषाध्यक्षमा ह्याम्लेट टुर्स एण्ड ट्राभल्सका जीवन कोइराला रहेका छन् । त्यसैगरी कार्यकारिणी सदस्यहरूमा दीनानाथ पाण्डे, दिनेश मैनाली, दीपक मरासिनी, नवीन गुरुङ, प्रकाश लोहनी, सरला सापकोटा, सुमनलाल श्रेष्ठ र स्वस्तिका प्रधानले उमेदवारी दिएका छन ।
यस्ता छन्–पाण्डे समुहको नाट्टा रूपान्तरणका ११ संकल्प
पाण्डे प्यानलले सार्वजनिक गरेको ११ बुँदे संकल्पपत्रमा पर्यटन क्षेत्रका समसामयिक समस्या र तिनको समाधानलाई प्राथमिकतामा राखिएको छ ।
१.सुशासन, पारदर्शीता तथा सदस्य सहभागिता
नाट्टामा सुशासन, पारदर्शीता र व्यावसायिकता सुनिश्चित गर्दै सम्पूर्ण सदस्यहरूलाई समान अवसर र निष्पक्ष प्रतिनिधित्व गराउने ।
२.अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन
अन्तर्राष्ट्रिय बजारहरू पहिचान गरी नियमित सेल्स मिसन सञ्चालन गर्ने र विश्वप्रसिद्ध ट्राभल मार्टहरूसँग सहकार्य गर्दै नेपालमै अन्तर्राष्ट्रिय स्तरको ट्राभल मार्टको विकास गर्ने ।
३. हवाई टिकट र भ्याट समस्या समाधान
टिकेटिङ प्रणालीमा हुने त्रुटि समाधान गर्ने, हवाई टिकट र पर्यटकीय सवारी साधनमा लगाइएको भ्याटको अव्यावहारिक व्यवस्था खारेज गर्न सरकारसँग पहल गर्ने । पर्यटकीय सवारी साधनका लागि हरियो नम्बर प्लेटलाई निरन्तरता दिँदै व्यवस्थित टुरिस्ट बस टर्मिनल निर्माण गर्ने ।
४. दुतावास तथा कूटनीतिक समन्वय
नेपालस्थित विदेशी दूतावास र कूटनीतिक नियोगहरूसँग सहकार्य गरी नेपाललाई प्राथमिक गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने ।
५. क्षमता विकास र तालिम
सदस्यहरूका लागि निःशुल्क रूपमा एकाउन्टिङ, डिजिटल मार्केटिङ र टिकेटिङ सम्बन्धी तालिम सञ्चालन गर्ने तथा अन्तर्राष्ट्रिय बजारबाट फ्याम ट्रिप आयोजना गर्ने ।
६. डिजिटल नाट्टा
अनलाइन सदस्यता नवीकरण, डिजिटल भुक्तानी र गुनासो सुनुवाइ प्रणालीसहितको पोर्टल निर्माण गर्ने । सदस्यहरूका लागि सर्कुलर र अपडेटहरू एकै ठाउँमा पाउने गरी डिजिटल डेटाबेस बनाउने ।
७. आउटबाउन्ड टुरका समस्या समाधान
आउटबाउन्ड टुरमा देखिएका स्विफ्ट ट्रान्सफर, डलर कार्डको उपलब्धता र विदेशी मुद्रा सम्बन्धी जटिलताहरू समाधान गर्न राष्ट्र बैंकसँग सशक्त पहल गर्ने । कर्पोरेट हाउसहरूलाई आन्तरिक पर्यटनमा जोड्ने ।
८. बहुद्देश्यीय टुर व्यवस्थापन
ठगी गर्ने विदेशी कम्पनीहरूलाई कालोसूचीमा राख्ने, माउन्ट कैलाश, भुटान, भारत, श्रीलंका लगायतका गन्तव्य जोडेर प्याकेज बनाउने । साथै, बंगलादेशी पर्यटकका लागि नेपालमा टाका सटही गर्ने व्यवस्था मिलाउन पहल गर्ने ।
९.स्वच्छ पूर्वाधार र दिगो पर्यटन
दुई वर्षभित्र प्रमुख पर्यटकीय गन्तव्यमा कम्तीमा २० वटा सार्वजनिक शौचालय निर्माण गर्ने । क्लिन एण्ड ग्रीन नेपाल अभियान चलाउने र ट्रेकिङ रुटहरूमा क्यारी इन–क्यारी आउट नीति लागू गर्ने ।
१०. सदस्य हित संरक्षण र बिमा
जीडीएस फ्रड र साइबर क्राइमबाट हुने आर्थिक नोक्सानी कम गर्न इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरी इन्स्योरेन्स प्रोटेक्सन स्किम लागू गर्ने । एयरलाइन्ससँगको कमिसन र सेटलमेन्ट विवाद समाधान गर्ने ।
११. आर्थिक रूपमा सबल र विस्तारित नाट्टा
नाट्टाको सदस्यता विस्तार गरी कम्तीमा एक हजार पु¥याउने । पर्यटन क्षेत्रको छाता संगठनका रूपमा नाट्टालाई महासंघको ढाँचामा पुनर्संरचना गरी केन्द्रमा सबै प्रदेशको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्ने ।
तपाईको प्रतिक्रिया