२० श्रावण / अर्थ र व्यापार- नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईलाई भेट गरि पर्यटन क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा १२ बुँदे सुझाव पेश गरेको छ । मन्त्री भट्ट्राईलाई नाट्टाले बधाई तथा शुभकामना दिने क्रममा नै सो सुझाव पेश गरेको हो ।
नाट्टाका अध्यक्ष सी.एन पाण्डेको नेतृत्वमा गएको टोलिमा नाट्टा कार्यसमिति र पूर्व अध्यक्षहरु समेत सम्मिलित थिए । नाट्टाले पेश गरेको सुझावहरुमा हाल त्रिभुवन अन्तर्रााष्ट्रिय विमानस्थलमा हवाई ट्राफिकको चाप ज्यादै बढी भई अवतरणका लागि आएका हवाई जहाजहरु आकाशमै होल्ड गरि राख्नुपर्ने अवस्था रहेकोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २४ घण्टा खुल्ला गर्ने व्यवस्था गरिनु पर्ने,दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको आवश्यकता ज्यादै टड्कारो रुपमा देखिएकाले बाराको निजगढ विमनस्थलको निर्माण कार्य यथाशिघ्र शुरु गरिनु पर्ने उल्लेख छ ।
त्यसैगरी नाट्टाले राष्ट्रिय ध्वजाबाहकको सुधार, टुरिष्ट बस टर्मिनलको व्यवस्था तथा दत्र्ता नगरि संचालनमा रहेका अवैध कम्पनीहरुबाट भएका ई–टिकेटिङ वारे पनि सुझाव पेश गरेको छ ।
तपाईको प्रतिक्रिया