८असोज/अर्थ र व्यापार- हिमालयन गार्डियन नेपाल प्रा.लि.ले विदेशी पर्यटकका लागि नेपालमै उपलब्ध हुने विश्वकै सस्तो बिमा योजना सार्वजनिक गरेको छ । यसले नेपालको पर्यटन सुरक्षामा नयाँ अध्याय सुरु गराएको कम्पनीले जनाएको छ । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीको पहलमा स्थापना भएको हिमालयन गार्डियनले विदेशी पर्यटकका लागि नेपालमै उपलब्ध हुने विश्वकै सस्तो बिमा योजना सार्वजनिक गरेको हो ।
यो योजना विशेषगरी सांस्कृतिक भ्रमण, साहसिक पदयात्रा र हिमाल आरोहणमा संलग्न हुने पर्यटकलाई लक्षित गरिएको छ । परम्परागत रूपमा यात्रुहरूले आफ्नै मुलुकमा महँगो बिमा लिनुपर्ने बाध्यता रहेकामा यस कम्पनीले नेपालमै सजिलो, सस्तो र प्रविधिसम्पन्न बिमा सेवा उपलब्ध गराएको जनाएको छ ।
कम्पनीले पर्यटकको आवश्यकता अनुसार तीन तहका बिमा योजना ल्याएको छ । सांस्कृतिक भ्रमण र अवकाश यात्रा (३ हजार ५ सय मिटरसम्म) १४ दिनका लागि प्रतिव्यक्ति १६ अमेरिकी डलरको छ । पदयात्रा (५,५ सय मिटरसम्म) १४ दिनको बिमा प्रतिव्यक्ति १ सय ५० अमेरिकी डलर र हिमाल आरोहण (६ हजार मिटरसम्म) ६० दिनसम्म मान्य बिमा प्रतिव्यक्ति पाँच सय अमेरिकी डलरको छ । यी बिमा योजना नेपालका दर्ता भएका ट्रेकिङ तथा पर्यटन एजेन्सीमार्फत मात्र खरिद गर्न सकिनेछ । सरकारले पदयात्रा र आरोहण गतिविधिमा दर्ता गाइड र एजेन्सी अनिवार्य गरेको भएकाले यात्रुहरूले आफ्ना एजेन्सीमार्फत बिमा सहजै लिन सक्ने व्यवस्था मिलाइएको छ । एजेन्सीहरूले अग्रिम भुक्तानी गर्नुपर्ने भएकाले बिमा शुल्कमा १०–१५ प्रतिशत सेवा शुल्क थप हुन सक्ने बताइएको छ ।
प्रत्येक बिमासँगै स्याटेलाइट–जडित विशेष उपकरण उपलब्ध गराइनेछ, जसमा एसओएस बटन राखिएको छ । आपत्कालीन अवस्थामा यात्रुले बटन थिच्ने बित्तिकै बिमा कम्पनीको प्लेटफर्ममार्फत नेपालका बिमा कम्पनी, उद्धार सेवाप्रदायक र चिकित्सकहरूसँग प्रत्यक्ष सम्पर्क हुन्छ । यो प्रणालीमार्फत हेलिकोप्टर, शेर्पा वा चिकित्सक तुरुन्तै पीडितको ठ्याक्कै स्थानमा पुग्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
पर्यटन क्षेत्रमा पछिल्ला वर्षमा बढ्दो समस्या बनेको नक्कली उद्धार र अस्पतालमा हुने अत्यधिक बिलिङ जस्ता अभ्यासलाई यस बिमा प्रणालीले अन्त्य गर्ने विश्वास लिइएको छ ।
तपाईको प्रतिक्रिया