२२ साउन / अर्थ र व्यापार- नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को आगामी साउन २९ गते हुने निर्वाचनका लागि पर्यटन व्यवसायी प्रदीप आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । ड्युक नेपाल एडभेन्चरका प्रबन्ध निर्देशक आचार्यले पर्यटन क्षेत्रमा नीतिगत, प्राज्ञिक तथा व्यावसायिक अनुभव हाँसिल गरेका छन् ।
विगत लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा सक्रिय रहँदै आएका आचार्यले पर्यटन व्यवसायीको हकहित संरक्षण, संस्थागत सुदृढीकरण तथा पर्यटन क्षेत्रको आधुनिकीकरणलाई प्राथमिकतामा राख्दै उम्मेदवारी घोषणा गरेको वताए ।
आचार्यले त्रिभुवन विश्वविद्यालयबाट ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (एमटीटीएम) र बिजनेस स्टडिजमा स्नातकोत्तर तथा नेपाल ल क्याम्पसबाट कानुन (एलएलबी) अध्ययन गरेका छन् ।
उनी राष्ट्रिय ताल संरक्षण विकास समितिका पूर्व कार्यकारी सदस्य समेत हुन् । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा पर्यटन नीतिसम्बन्धी विषयमा सक्रिय सहभागिता जनाउँदै आएका छन् । पर्यटन, सुशासन र उद्यमशीलतासम्बन्धी विश्लेषणात्मक लेख–रचनामार्फत पनि उनले आफ्नो धारणा सार्वजनिक गर्दै आएका छन् ।
आचार्यले आफ्नो उम्मेदवारीमार्फत पर्यटन व्यवसायीहरूको हकहित संरक्षण, डिजिटल पर्यटनको प्रवद्र्धन, नेपालको पर्यटन नीतिमा समयानुकूल सुधार, अन्तर्राष्ट्रिय बजारीकरणको विस्तार तथा नयाँ प्रविधि, अनुसन्धान र युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया