२९ असोज/अर्थ र व्यापार- नेपालका टुर अपरेटरहरूको छाता संस्था नेपाल एसोसिएसन अफ टुर अपरेटर्स (नाटो) का अध्यक्ष विश्वेश श्रेष्ठले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमको वर्तमान संरचना नै कायम राखेर नयाँ नेतृत्व बनाउनुको अर्थ नरहने बताएका छन् । नाटोको २४ औं वार्षिक साधारणसभामा अध्यक्ष श्रेष्ठले पर्यटन बोर्ड र नेपाल वायुसेवा निगम सुधार गर्न नयाँ नेतृत्व राख्ने तयारी भइरहेको सन्दर्भ उल्लेख गर्दै ती संस्थाको वर्तमान संरचना कायम रहेसम्म जतिसुकै नयाँ नेतृत्व ल्याए पनि तात्विक फरक नपर्ने बताए ।
दुवै संस्थामा हायर एन्ड फायरको नीति लागु नहुँदासम्म नयाँ नेतृत्व ल्याउँदैमा संस्था सुधार हुने कल्पना गर्न नसकिने अध्यक्ष श्रेष्ठले वताए । त्यस्तै त्रिभुवन विमानस्थलमा जहाज कम्तीमा आधा घण्टा होल्ड गर्नुपर्ने अवस्था रहेकाले यस्तो अवस्था रहेसम्म पर्यटक बढाउन सम्भव नहुने उनको भनाइ छ । जहाज धेरै समय होल्ड भएकै कारण हवाई भाडा बढ्नुको एउटा कारण रहेको उनले बताए ।
नाटो अध्यक्ष श्रेष्ठले हचुवा शैलीमा आरोग्य वर्ष मनाउने घोषणा गरेर सरकारले कमसल काम गरेको आरोप समेत लगाए । पर्यटन व्यवसायीहरुसँग सल्लाह नै नगरी एकतर्फी निर्णय गरिएको भन्दै उनले असन्तुष्टि पोखे । पर्यटन क्षेत्रलाई उद्योगको दर्जा दिने दुई वर्षअघिको विषय अहिलेसम्म कार्यान्वयन नभएको उनले बताए । नयाँ सरकारले यसमा चाँडै काम गर्ने आशा आँफुहरुको रहेको श्रेष्ठको भनाई छ ।
अध्यक्ष श्रेष्ठका अनुसार नाटोको पहलमा धादिङ गजुरीमा पर्यटकका लागि अन्तर्राष्ट्रिय स्तरको शौचालय निर्माण गर्ने तयारी अगाडि बढेको छ । यसबाट स्वदेशी तथा विदेशी पर्यटकलाई ठूलो राहत मिल्ने उनले बताए ।
कार्यक्रममा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा–नेपाल) च्याप्टरका अध्यक्ष नरेन्द्र भट्टले लक्जरी पर्यटनका नाममा एकतारे, दुईतारे होटल, लज, साना होटल र होमस्टेलाई मारमा नपारी उनीहरूलाई पनि सँगसँगै लिएर जानुपर्ने धारणा राखे । त्यस्तै नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष भरतजंग पाण्डेले नोटोसँग सहकार्य गर्न नाट्टा तयार रहेको बताए ।
त्यस्तै स्काल नेपालका अध्यक्ष रमेश लुइँटेलले पर्यटन महासंघ बनाउने विषय सामूहिक हितका लागि अगाडि बढाइएको बताए । सरकारसँग छुट्टाछुट्टै संघबाट कुरा राख्दा कमजोर देखिएकाले महासंघ बनाएर जाँदा थप बलियो हुने उनको भनाइ छ । नाटोले टुर अपरेटर्सहरुको हक,हित तथा नितिनिर्माणमा सघाउँदै नेपालको पर्यटन क्षेत्रको विकासमा लामो समयदेखि योगदान प¥याउँदै आएको छ ।
तपाईको प्रतिक्रिया