२१ वैशाख/अर्थ र व्यापार – पछिल्लो समय पर्यटक आगमन संख्या बढेर सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार अप्रिल महिनामा मात्र १ लाख १६ हजार ४सय ९० जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको पर्यटन बोर्डले जनाएको छ ।
बोर्डका अनुसार अप्रिल महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट २५ हजार ९ सय ३३ जना, अमेरिकाबाट १० हजार ५३ जना , चीनबाट ९ हजार ३७ जना पर्यटक नेपाल भित्रिएका छन् ।
सो अवधीमा बेलायतबाट ६ हजार ८ सय ३८ जना पर्यटक नेपाल भित्रिएका छन् । पछिल्लो तथ्यांक विस्लेषण गर्दा अझै अपेक्षाकृत रुपमा भारतीय र चिनियाँ पर्यटक बढ्न सकेका छैनन् ।
बोर्डका अनुसार सन् २०१९ को तुलनामा १ सय ६ दशमलव ५ प्रतिशतले पर्यटक आगमन संख्या बढेको छ । कोरोना महामारीपूर्व सन् २०१९ को अप्रिल महिनामा सबैभन्दा धेरै एक लाख ९ हजार ३९९ विदेशी पर्यटक नेपाल आएका थिए । सन् २०२४ को अप्रिलमा एक लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
सन् २०२३ को अप्रिलमा ९८ हजार ७ सय ७३ जना पर्यटक नेपाल भित्रिएका थिए । ‘हामीले आधिकारिक रुपमा १सय ६ दशमलव ५ प्रतिशत पूर्व–महामारी स्तरमा पुगेका छौ, यसले बलियो ‘रिकभरी’ र नेपालमा बढ्दो विश्वव्यापी चासो देखाएको बोर्डले जनाएको छ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अप्रिल महिनाको पर्यटक आगमन उत्साजनक रहेको बताए । बोर्डका अनुसार वर्षको चार महिना (जनवरी–अप्रिल) को अवधिमा ४ लाख १५ हजार ४८ पर्यटक नेपाल भित्रिएका छन् ।
जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८० र मार्चमा १ लाख २१ हजार ८ सय जना पर्यटक नेपाल भित्रिएका थिए । यस्तै अवस्था देखिए यस मे महिनामा अझै पर्यटक आगमन संख्या बढ्ने अनुमान बोर्डले गरेको छ ।
तपाईको प्रतिक्रिया