१ कात्तिक/अर्थ र व्यापार – नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ७३ करोड ९ लाख ५५ हजार २ सय ८१ रूपैयाँ भुक्तानी गरेको छ ।
निगमले सोमबार सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्तावापत सो रकम भुक्तानी गरेको हो । यसअघि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट विमान खरिदका लागि निगमले ऋण लिएको थियो।
निमगले कर्मचारी सञ्चय कोषसँग न्यारोबडी विमान खरिदको सावाँ र ब्याजवापतको ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रूपैयाँ र नागरिक लगानी कोषसँग वाइडबडी विमान खरिद गर्दाको ऋण दायित्वको किस्तावापतको २० करोड रूपैयाँ गरी जम्मा ७३ करोड ९ लाख ५५ हजार २ सय ८१ किस्तावापतको रकम भुक्तानी गरेको हो ।
विगत तीनवर्षदेखि निगमले सञ्चय कोष तथा नागरिक लगानी कोषको ऋण तिर्न सकेको थिएन । हाल निगमले आम्दानी गर्न सफल भएको निगमले जनाएको छ ।
निगमको नियमित उडान, अकुपेन्सी दरमा सुधारबाट आम्दानीमा वृद्धि भएपछि गत ३० असारमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण किस्तावापतको १ अर्ब ३५ करोड रूपैयाँ पनि भुक्तानी गरिसकेको निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिए।
तपाईको प्रतिक्रिया