२० जेठ/अर्थ र व्यापार – वायुसेवा प्रदायक कम्पनीहरुको छाता संस्था वायुसेवा सञ्चालक संघ नेपालले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई चालक राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको बताएको छ ।
प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुईवटा चालक अनिवार्य गर्ने तयारी गरिरहेका बेला वायुसेवा संचालक संघले व्यावसायिक उडानमा सो कदम उपयुक्त नहुने धारणा अघि सारेको हो ।
तारा एयरको विमान दुर्घटना भएपछि गत बुधबार प्राधिकरणले हेलिकोप्टर कम्पनीहरुमाथी पनि यस्तो नयाँ नियम लागु गर्ने निणर्य गरेको थियो । सो निणर्यपछि हेलिकोप्टरमा दुई चालक राख्नेबारे नागरिक उड्यन प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरेर अध्ययन गरिरहेको छ ।
वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले एउटा इन्जिन भएको हेलिकोप्टरमा दुईजना चालक राख्दा तलबमा धेरै रकम खर्च गर्नुपर्ने र यात्रुको संख्या नै थप घट्ने भएकाले सरकारको यस्तो निणर्यले सबै कम्पनी धरासायी हुने बताए । ९ सिट क्षमताभन्दा माथिका हेलिकोप्टरहरुमा दुईजना चालक राख्न समस्या नरहे पनि सबै हेलिकोप्टरमा दुईजना पाइलट राख्दा दक्ष जनशक्तिको समेत अभाव हुने संघको धारणा रहेको उनले जानकारि दिए ।
हाल नेपालमा सञ्चालन भइरहेका ११ वटा हेलिकोप्टर कम्पनीमा एउटा मात्रै इन्जिन भएका ३१ तथा दुई इन्जिन भएका पाँच हेलिकोप्टरले व्यावसायिक उडान भर्दै आएका छन् । जसमध्ये १० जना विदेशी र २६ जना नेपाली चालकले एउटा इन्जिन भएका हेलिकोप्टर उडाउँदै आएको सो संघले जानकारि दिएको छ ।
तपाईको प्रतिक्रिया