८ साउन / अर्थ र व्यापार – साताको पहिलो दिनको सेयरबजारमा नेप्से परिसूचक झिनो अंकले घटेको छ भने कारोबार रकममा बढोत्तरी आएको छ । वाणिज्य बैंक समूहमा दोहोरो अंकको गिरावट आएपछि नेप्से नकारात्मक रह्यो भने बीमा समूह उचालिएपछि कारोबार रकममा बढोत्तरी आएको छ ।
खुल्ने वित्तिकै देखि तीब्र उतार चढाव देखिएको शेयर बजार न्यूैन अंकको गिरावटसँगै बन्द भएको छ । आइतबार नेप्से ०.१९ अंकले घटेर १६३५.५६ विन्दुमा पुगेको छ । १५१ कम्पनीको कारोबार भएको बजारमा १५ लाख ४१ हजार कित्ता सेयर एक अर्ब चार करोड बराबरमा किनबेच भए । गत विहीबारको तुलनामा कारोबार रकम ८ करोड बढी हो ।
कारोबारमा तीब्र उतार चढाव देखिए पनि ठूलो अंकले तलमाथि भने बजार पुगेन । खुलेको ३० मिनेटमा ४ अंकले बढेको बजार १२ः४० मा एक अंकले घटेको थियो । त्यसपछि आधा घण्टा बजार स्थिर रह्यो । २ बजे १६४० अंकमा पुगेको बजार त्यसपछि क्रमशः ओर्लिएर बन्द भएको हो । ठूलो उतार चढाव नआए पनि कारोबार रकमले भने आइतबार पनि अर्ब रुपैयाँ नाघेको छ । गत साताका पाँचै दिन कारोबार रकमले एक अर्ब रुपैयाँ नाघेको थियो ।
बीमा कम्पनीहरुको ५२ करोड ८८ लाख बराबरको सेयर किनबेच भयो । बीमा समूहको सूचक सबैभन्दा धेरै २७५ अंकले बढेर ९२६८ अंक पुगेको छ । १४ अंकले घटेको वाणिज्य बैंक समूहमा भने २४ करोड बराबरको सेयर किनबेच भएको छ । यसदिन उच्च कारोबार गर्ने कम्पनीको सूचीमा बीमा कम्पनीहरुकै बाहुल्यता देखिएको छ ।
सबैभन्दा धेरै कारोबार गर्ने नेपाल लाईफको ६ करोड ८३ लाख बराबरको कारोबार भयो । नेको इन्स्योरेन्सको पनि करिब पाँच करोड बराबरको सेयर किनबेच भएको छ । सानिमामाई हाइड्रो र प्रभु इन्स्योरेन्सको पनि साढे चार करोड बढीको कारोबार भयो।
होटल, विकास बैंक, बीमा र उत्पादनमूलक उपसूचकमा सामान्य बृद्धि भए पनि बैंक, जलविद्युत, फाइनान्स र अन्य कम्पनी उपसूचकले आइतबार बजारलाई हरियो हुन दिएनन् । सबैभन्दा धेरै बैंक ०.९८ प्रतिशतले घटेको छ । यस्तै बीमा उपसूचक ३.०६ प्रतिशतले घटेको छ ।
आइतबार हाम्रो विकास बैंकका शेयरधनीले झन्डै १० प्रतिशत कमाए । यस्तै कुबेर मर्चेन्ट फाइनान्स र हिमालयन जनरल इन्स्योरेन्सको पनि ९ प्रतिशत बढिले मूल्य बढेको छ । रिलायवल फाइनान्स र रिडी हाइड्रोपावरका शेयरधनीले चार प्रतिशत बढि गुमाए ।
तपाईको प्रतिक्रिया