९ मंसिर/अर्थ र व्यापार – मंगलबार पनि सेयर बजारको परिसूचक नेप्से ५.३२ अंक बढेर २६ सय ५५ अंकमा कायम भएको छ । यो अंक सहित ३ दिनदेखि बजार निरन्तर बढेको हो ।
नेप्से बढे पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब ३ करोडको कारोबार भएकोमा मंगलबार ५ अर्ब ८२ करोड रूपैयाँ पुगेको छ ।
यसदिन १ सय २२ कम्पनीको मूल्य बढ्दा १ सय २५ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १० वटाको स्थिर रहेको छ । दिनभर बजार सामान्य उतारचढामा रहे पनि अन्ततः बजार केही बढेर बन्द भएको छ ।
यसदिन समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ । होटल तथा पर्यटन सबैभन्दा धेरै १ दशमलब ४ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ शून्य दशमलब १९, फाइनान्स ०.०२, हाइड्रोपावर ०.१९, लगानी ०.२३, उत्पादन तथा प्रशोधन १.३०, माइक्रोफाइनान्स ०.०४, निर्जीवन बीमा ०.६५ र अन्य ०.४९ प्रतिशत बढे ।
व्यापार १.३३, जीवन बीमा ०.३० तथा विकास बैंक ०.२४ प्रतिशत घटे । तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढ्नेमा झापा इनर्जी, सागर डिस्टिलरी र श्रीनगर एग्रिटेक कम्पनी छन् ।
त्यस्तै स्वस्तिक लघुवित्तको ८.२३, बन्दीपुर केबुलकारको ७.२३, दरामखोला हाइड्रोपावरको ६.८७ तथा हिमस्टार ऊर्जाको ५.३२ प्रतिशत मूल्य बढ्यो ।
जोशी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४.९६ प्रतिशत घट्यो । सुपरमाइको ३.१९ तथा भूगोल इनर्जीको २.७४ प्रतिशत मूल्य घट्यो । यसदिन धेरै कारोबार भएका कम्पनीमा बन्दीपुर केबुलकार, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप, युनियन हाइड्रोपावर र शिवम् सिमेन्ट हरेका छन् ।
तपाईको प्रतिक्रिया