१४ जेठ/अर्थ र व्यापार – यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से १७ दशमलब ४४ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से २६ सय ९३ दशमलब ६ विन्दुमा कायम भएको छ ।
यसदिन बजारसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ५२ करोडको कारोबार भएकोमा यसदिन ८ अर्ब ५८ करोड ६० लाख ४ हजार ३ सय ३४ रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन १ सय ४८ वटा कम्पनीको सेयरमूल्य बढेको छ । ९७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । २ वटाको स्थिर रहेको छ । बुधबारको सेयर बजार वृद्धिमा बैंकिङ उपसमूहको भूमिका सबैभन्दा बढी देखिएको छ । बैंकिङ उपसमूहको सेयरमूल्य सबैभन्दा धेरै १ दशमलब ८८ प्रतिशतले बढेको छ ।
त्यसपछि विकास बैंक उपसमूहको १ दशमलब २९ प्रतिशत, फाइनान्स उपसमूहको शून्य दशमलब १८ प्रतिशत, होटल तथा पर्यटन उपसमूहको शून्य दशमलब ८१ प्रतिशतले सेयरमूल्य बढेको छ ।
हाइड्रोपावर उपसमूहको ०.८९ प्रतिशत, लगानी उपसमूहको शून्य दशमलब ०३ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूहको ०.६५ प्रतिशतले सेयरमूल्य बढेको छ ।
दुई वटा कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै ग्रिन डेभलपमेन्ट बैंकको ९.८५, भूगोल इनर्जीको ९.१५, अरुण काबेली पावरको ५.८९ प्रतिशत मूल्य बढ्यो ।
बुधबार जीवन बीमा उपसमूहको शून्य दशमलब २४ प्रतिशत, माइक्रोफाइनान्स उपसमूहको ०.२६ प्रतिशत, निर्जीवन बीमा उपसमूहको ०.२६ प्रतिशत र अन्य उपसमूहको सेयरमूल्य शून्य दशमलब ०६ प्रतिशतले घटेको छ ।
मूल्य धेरै घट्नेमा बाराही हाइड्रोपावर छ । सो कम्पनीको ५ दशमलब २६ प्रतिशत मूल्य घटेको छ । त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ५ दशमलब १० प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ४.०८ प्रतिशत र दिव्यश्वरी हाइड्रोपावरको ३.९१ प्रतिशतले सेयरमूल्य घटेको छ ।
तपाईको प्रतिक्रिया