१५ साउन/अर्थ र व्यापार – पछिल्लो समय सेयर बजारको कारोबारमा लगातार उत्साह देखिएको छ । मंगलबार नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६ सय ९६.६५ को विन्दुमा पुगेको छ। यसदिन कारोबारमा आएका बैंकिङ, म्युचुअल फन्ड, निर्जीवन बीमा कम्पनी र ट्रेडिङ बाहेकका उपसमूहले बजार बढाएका हुन् । होटल तथा पर्यटनको सूचक सर्वाधिक ५.९९ र फाइनान्स उपसमूहको ५.९८ प्रतिशतले बढेको छ ।
कारोबारमा आएका ३ सय २९ वटा कम्पनीमध्ये १८९ कम्पनीको सेयर मूल्य बढेको छ । ६ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । प्रोग्रेसिभ फाइनान्स, बरुण हाइड्रोपावर, सान्जेन जलविद्युत, नेपाल वेयर हाउस, सीइडीबी हाइड्रोपावर र नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्।
१७ अर्ब २६ करोड ६३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ६० करोड १० लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै शिवम् सिमेन्ट ३७ करोड ६७ लाख, सोल्टी होटल ३६ करोड ४३ लाख र नेपाल फाइनान्सको ३५ करोड ३८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। गत ११ साउनमा मौद्रिक नीति आएपछि आइतबार दुई पटक सर्किट लागेर ११३ अंकले बढेको सेयर बजार सोमबार २०.४६ अंकले घटेको थियो । सो दिन नेप्से ओरालो लाग्दा समेत १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको थियो।
मंगलबार बजार उकालो लागे पनि ४७ कम्पनीको सेयर मूल्य घटेको छ ।
एसियन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतले गुमाएका छन्। ६ कम्पनीको सेयरमूल्य स्थिर रह्यो। सेयर बजार लगातार उकालो लाग्दा पछिल्लो एक महिनामा लगानीकर्ताको सम्पत्ति १० खर्ब रुपैयाँले बढेको छ । गत १७ असारमा ३२ खर्ब रहेको बजार पुँजीकरण अहिले ४२ खर्बभन्दा माथी पुगेको छ । यो बीचमा नेप्से परिसूचक ७०० अंकले बढेको छ।
तपाईको प्रतिक्रिया