१६ पुस/अर्थ र व्यापार – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना भएपनि नेपालले उपयोग गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै सम्बन्धीत सरोकारवालाहरुलाई पर्यटन क्षेत्रको सम्भावनालाई सक्दो उपयोग गर्न आग्रह गरेका छन् ।
मंगलबार राजधानीमा आयोजित नेपाल पर्यटन बोर्डको २६ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले नेपालमा पर्यटन क्षेत्रको प्रशस्त सम्भाना रहेको र सबैले समन्वय गरेर पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
उनले पर्यटन क्षेत्रको प्रशस्त सम्भावना भएपनि पर्यटन क्षेत्रले स्वरोजगार र जीडीपीमा न्यूनतम मात्रै योगदान गरेको बताए । उनले पर्यटनको प्रशस्त सम्भावना छ मात्रै भनिरहने भन्दा पर्यटन प्रवद्र्धनका लागि काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।
मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्र मिलेर परिणाम ल्याउने गरी काम गर्नुपर्ने बताए । पर्यटनसम्बन्धी निकायहरुबीच समन्वय आवश्यक रहेको बताउँदै मन्त्री पाण्डेले भने, ‘अहिले पर्यटन क्षेत्रको प्रशस्तै सम्भावना छ पनि भन्छौँ, तर, उपयोग गर्न सकिरहेका छैनौँ ।’
हाल मुलुकमा पर्यटन क्षेत्रबाट एकदमै झिनो मात्रै योगदान छ भन्दै उनले देशको स्वरोजगारीमा तथा जिडिपिमा न्यूनतम मात्रै योगदान रहेकाले अब पर्यटन क्षेत्रबाट अपेक्षाकृत रुपमा लाभ लिनकालागि परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए ।
पर्यटन क्षेत्रसित सम्बन्धीत सबै निकायहरुबीच समन्वयात्मक ढंगले काम गर्न आग्रह गर्दै उनले सरकारले आवस्यक सहकार्यमा नीति क्षेत्रलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
मन्त्री पाण्डेले सरकार र निजी क्षेत्र मिलेर पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै काम मात्र ओगट्ने तर, सम्पन्न नगर्ने प्रवृत्तिले धेरै समस्या निम्तिएको बताए । उनले नेपाल आउने पर्यटकलाई राम्रो स्वागत सत्कार गर्न निदेर्शन दिए । उनले सन् २०२५ देखि २०३५ लाई पुनः ‘पर्यटन दशक’ मनाउने सरकारको तयारीबारे समेत जानकारी गराए ।
यसअघि सरकारले भ्रमण वर्ष २०२० घोषणा गरी २० लाख पर्यटक भित्राउने तयारी गरेको थियो । सो तयारीलाई कोरोना विश्व महामारीले असर गरेको थियो । त्यसयता सरकार र पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनमा ठोस योजना ल्याउन सकेका छैनन् ।
सरकारले २०२३ देखि मनाउने भनेको पर्यटन दशक कार्यविधि अभावले मनाउन नसकिएको पर्यटन मन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।
सरकारले पर्यटन दशकका रूपमा मनाउने घोषणा गरेको भएपनि त्यो कार्यविधि अभावका कारण पूरा हुन नसकेको जानकारी गराउँदै मन्त्री पाण्डेले भने, ‘सरकारले अब सन् २०२५ देखि २०३५ लाई पर्यटन दशकका रूपमा मनाउने छ ।’
मंगलबारदेखि नेपाल पर्यटन बोर्ड २७ औं वर्षमा प्रवेश गरेको छ । नेपालको पर्यटन प्रवद्र्धनको जिम्मा पाएको एक मात्रै सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलेको संस्था पर्यटन बोर्डले मंगलबार आफ्नो २६ औं वार्षिकोत्सव मनाएको हो ।
बोर्डको वार्षिकोत्सव कार्यक्रममा मन्त्री पाण्डेले नेपालको पर्यटन अन्तर्राष्ट्रिय प्रर्वद्धन तथा डिजिटल मार्केटिङलाई प्रभावकारी बनाउन बोर्डले जोड दिनुपर्ने बताए । उनले नेपालको समग्र पर्यटनलाई दिशानिर्देश हुनेगरी सरकारले नीतिगत रुपान्तरणका लागि काम गरिरहेको दावी गरे ।
मन्त्री पाण्डले पर्यटन विकासको लागि पर्यटनमैत्री नीति आवश्यक रहेकोमा जोड दिँदै सरकारको नयाँ पर्यटन नीति तयार गरिरहेको र अब छिट्टै नयाँ नीति आउने बताए । उनले भने ‘पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) को अवधारणालाई आत्मसात गर्दै अन्तर्राष्ट्रिय प्रर्वद्धनका कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन आग्रह गरे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले पर्यटन उद्योगको विकास र विस्तारबाट नेपालको आर्थिक विकास गर्न सकिने भएकाले यसमा सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको धारणा राखे ।
नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य ऋषि भण्डारीले यसको लागि पर्यटन प्रर्वद्धनको मुख्य जिम्मेवारी बोकेको नेपाल पर्यटन बोर्ड सरोकारवाला सबैलाई साथमा लिएर गतिशील बनाउँदै लैजानु पर्नेमा जोड दिए ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपालको पर्यटक आगमन विस्तारै लयमा फर्किदै गएको र नेपालको पर्यटनमा आगामी दिन थप सुनौलो हुने अपेक्षा गरिएको बताए । कारोना महामारिपछि विश्व परिवेशमा ९७ प्रतिशत रिकभरी देखिएको र सन् २०२४ मा नेपालमा साढे एघार लाख पर्यटकले भ्रमण गरेको जानकारी गराउँदै उनले कोभिडपछिको नेपालको पनि ९६ प्रतिशतसम्म रिकभरी देखिएको बताए ।
यसैगरी, नेपाल पर्यटन बोर्ड कर्मचारी संगठनका अध्यक्ष कुन्दन मिश्रले संस्थाको आन्तरिक सुदृढिकरणका लागि आवश्यक नीतिगत सुधारका लागि पहल गरिदिन आग्रह गरे । उनले ७ वर्षदेखि पर्यटन बोर्डले कर्मचारी पदपूर्ति नहुँदा नयाँले आउने बाटो बन्द भएको र सिनियरको बृद्धिविकास पनि रोकिएको बताए ।
उनले बोर्डमा १५ पद खालिभइसक्दा पनि अहिलेसम्म नयाँ नियुक्तिको प्रक्रिया रोकिएको र बोर्डको काममा फाइल ७ वर्षदेखि घुमेको घुम्यै भएकोबारे पनि मन्त्रीको ध्यानाकर्षण गराए । सो कार्यक्रममा बोर्डले प्रकाशन गरेको वार्षिक मुखपत्र इनफोकसको विमोचनसमेत भएको थियो ।
तपाईको प्रतिक्रिया