२७ माघ / अर्थ र व्यापार - शिवम् सिमेन्टको सेयरमा लगानीकर्ता आकर्षित हुँदा समग्र कारोबार रकम सुधार देखिएको छ। दिनभरीमा १७५ कम्पनीको सेयर ९३ करोड २० लाख रुपैयाँमा किनबेच भएकोमा शिवम् एक्लैको १३ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ।
शिवमको सेयर मूल्य पनि ४.२१ प्रतिशत अर्थात प्रतिकित्ता २२ रुपैयाँले बढेर ५४४ रुपैयाँ पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार सोमबार सबैभन्दा बढि शिवमका लगानीकर्ता सक्रिय देखिएका थिए। शिवमको ९६६ पटक किनबेच भएको छ। जबकी दोस्रो सक्रिय लगानीकर्ता ग्लोबल आइएमइको ३०५ पटक मात्र कारोबार भएको छ।
शिवमको १ लाख १५ हजार ५२१ कित्ता सेयरको माग थियो भने आपूर्ति ६५ हजार ९५३ कित्ता भएको थियो।
सुरुवातमा केही रातो देखिएको सेयर सूचक ४.२८ अंकले बढेर बन्द भएको छ। सूचक १३२४.२६ अंकमा बन्द भएको छ। सूचक १३३० अंक हाराहारीसम्म पुगेको थियो।
जलविद्युत, फाइनान्स, जीवन बीमा र सामूहिक लगानी कोष कम्पनीका सूचक रातो भएका छन्। बाँकी जम्मै सुचक हरियो भएको छ। बैंकिङ सूचक एक अंकभन्दा कमले बढेको छ। निर्जीवन बीमा कम्पनी, लघुवित्त र उत्पादन तथा प्रशोधन कम्पनीको सूचकले बजारलाई माथि लगेको हो।
सिभिल लघुवित्तको सर्वा्धिक ८ प्रतिशतले बढेको छ भने एभरेष्ट बैंकको कन्भर्टिवल सेयर ७.३६ प्रतिशतले घटेको छ। यसपछि सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य घटेको छ। दिनभरीमा ५७ कम्पनीको सेयर मूल्य घट्यो भने १०० वटाको बढेको छ।
तपाईको प्रतिक्रिया