९ पुस /अर्थ र व्यापार - मुद्रा र पूँजी बजार सम्बन्धी सरकारी कार्यदलले दिएको सुझाबले शेयर बजारलाई धान्न सकेन । आइतबार दोहोरो अंकले बढेको शेयर बजार सोमबार फेरि घटेको छ । सोमबार शेयर बजार मापक सूचक ६.४५ अङ्कले घटेर ११९१.७४ अंकमा ओर्लिएको छ ।
सेन्सेटिभ सूचक १.७० अङ्कले घटेर २५३.६८ अंकमा झर्यो । आइतबार सूचक ३२.२४ अङ्कले बढेको थियो । सोमबार कारोबारको सुरुवात देखिनै सूचकमा तीव्र उतार चढाब देखिएको थियो । कारोबारको पहिलो चौबिस मिनेटमा बजार नौ अङ्क बढेर सूचक १२०६ अंकमा उक्लिएको थियो । सुरुवाती समयमा कायम गरेको वृद्धि पहिलो घण्टाको अन्त्यमा घटेर रातो भएको थियो । त्यसपछि पून बढेको बजार कारोबारको अन्तिम खुम्चिएर बन्द भएको हो ।
सूचक सँगै कारोबार रकम समेत घटेको छ । १६८ कम्पनीको २२ लाख ७६ हजार कित्ता शेयर ७९ करोड ८७ लाख रुपैयाँमा कारोबार भयो । आइतबार ८७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आइतबारको तुलनामा कारोबार रकम करिब आठ करोड रुपैयाँ कम हो । सोमबार सबैभन्दा बढी एनएमबी बैंकको नौ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो ।
उपसूचक मिश्रित देखिएको छ । ११ समूहको कारोबारमा चार समूह बढेका छन् भने बाँकी समूह घटेका छन् ।
सबैभन्दाबढी होटेल समूह १.८४ प्रतिशतले घटेको छ । जीवन वीमा समूह १.२१ अङ्कले बढेको छ । सबैभन्दाबढी ग्लोबल आईएमई लघुबित्त वित्तीय संस्थाका शेयरधनीले करिब १० प्रतिशत कमाए । विशाल बजार कम्पनीका शेयरधनीले करिब आठ प्रतिशत गुमाए ।
तपाईको प्रतिक्रिया