४ असोज / अर्थ र व्यापार- नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेप्से सूचकांक गणनाका लागि लागू गरिएको १५ मिनेटको समय हटाउने निर्णय गरेको छ । आज बसेको बोर्ड सञ्चालक समितिले ६ महिना अघिदेखि लागु गरिएको सो नियम हटाउने निर्णय गरेको हो । १५ मिनेटको नियम हटेसंगै लगानीकर्ताहरु उत्साहित भएका छन । अर्थ र व्यापार संगको कुराकानीमा लगानीकर्ताले बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई धन्यवाद समेत दिए ।
यसअघि अर्थमन्त्री रामेश्वर खनालले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई नेप्से सूचकांक गणनाका लागि लागू गरिएको १५ मिनेटको समय हटाउन निर्देशन दिएका थिए ।
पछिल्ला दिनमा सेयर कारोवार निरन्तर ओरालो लागिरहेकोमा पछिल्लो जेन–जी आन्दोलनपछि गत बिहीबार खुलेको सेयर कारोबारमा तीनपटक नकरात्मक सर्किट लागेको छ । सेयर कारोबार ओरालो लागेकै कारण लगानीकर्ता र ब्रोकरहरुले १५ मिनेटको औसत मूल्य गणनालाई हटाउनुपर्ने माग गर्दै आएका थिए ।
जेन–जी आन्दोलनपछि पहिलोपटक खुलेको बिहीबारको सेयर बजार १६० अंकको पहिरो गएपछि नेप्से सूचकांक गणनाको विधि हटाउन माग गर्दै केही लगानीकर्ताले सेबोन घेराउ गर्न पुगेका थिए । उनीहरूको माग जसरी पनि १५ मिनेटको उक्त व्यवस्था हटाउनुपर्ने भन्ने थियो ।
तपाईको प्रतिक्रिया