२२/चैत अर्थ र व्यापार – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणी चापागाईँलाई स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान) का प्रतिनिधीले भेटेर बधाई दिएका छन् । एसबानको प्रतिनिधी टोलीले नेप्सेको कार्यालयमा पुगेर नवनियुक्त सीईओ चापागाइँलाई बधाई तथा शुभकामना व्यक्त गरेको हो ।
सो भेटमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले लगानीकर्तालाई तत्काल टीएमएसको मोबाइल एप कार्यान्वयनमा ल्याउन माग गरेका हुन् । ‘अहिले पुँजी बजारमा ६५ लाख लगानीकर्ता पुगिसकेका छन्,’ सो भेटमा ढकालले भने, ‘लगानीकर्ताले बर्षौदेखि टीएमएसको मोबाईल एप नहुँदा समस्या भोग्दै आएका छन् ,तसर्थ यसलाई तत्काल कार्यान्यनमा ल्याउनु पर्छ ।’
यसैगरी, उनले तत्काल टीएमसको मोबाइल एप कार्यान्यनमा ल्याएर लगानीकर्तालाई सहजिकरणकासाथै उनीहरुको हितमा काम गर्न आग्रह गरे ।
सो भेटवार्ता कार्यक्रममा नेप्सेका नवनियुक्त सीईओ चापागाइँले आफु निजी क्षेत्रबाट आएकाले उनीहरुको समस्याहरू राम्ररी बुझेको उल्लेख गर्दै केही नयाँ सुधारका काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।
‘मैले नेप्सेको गतिविधिबारे दैनिक रूपमा जानकारी लिइरहेको छु,’ उनले भने, ‘निकट भविष्यमा तपाईहरुले देख्नेगरी सुधारका कामहरु अघि बढाउने छु ।’ सो भेटमा ब्रोकर एसोसिएसनका उपाध्यक्ष नितेश अग्रवाल, महासचिव भक्तिराम घिमिरे, सचिव विनय पौडेल, कार्यसमिति सदस्य विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव, प्रियन्सु अग्रवाल लगायतको उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया