२८ साउन/अर्थ र व्यापार – मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले साधारण सेयर बिक्रीका लागि आवेदन खुलाएको छ ।
कम्पनीले आइतबारदेखि २२ लाख ७६ हजार ६२० कित्ता आइपीओ बिक्री खुलाएको हो ।
सो आइपीओमा सर्वसाधारणले आगामी बुधबारसम्म आवेदन दिन सक्नेछन् । सो समयसम्म सेयर बिक्रीका लागि पर्याप्त नभए आवेदन अवधि आगामी १० भदौसम्म थप गरिने छ ।
यो आइपीओ कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई बेचेर बाँकी ६ लाख १६ हजार ६२० कित्तासहित बिक्रीमा ल्याएको हो ।
२०७८÷७९ को वित्तीय विवरण अनुसार यस आयोजनाको प्रति मेगावाट लागत २७ करोड ८७ लाख १५ हजार रुपैयाँ छ । यस्तै आयोजनाको कुल लागत १ अर्ब ३९ करोड ३५ लाख ७५ हजार छ ।
यस कम्पनीले दोलखाको गौरीशंकर–७ मा ५ मेगावाटको घट्टेखोला जलविद्युत आयोजना सञ्चालन गरेको छ । यो आयोजना २०७७ सालको २ कात्तिकबाट सञ्चालनमा आएको थियो ।
तपाईको प्रतिक्रिया