१७ फागुन/अर्थ र व्यापार – बिपिडब्लु लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेको आईपीओ बाँडफाँड गरेको छ । ब्रिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार मंगलबार आईपीओ बाँडफाँड भएको हो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरिएको ९ हजार ७०० कित्ता सेयर बाँडफाँड गरिएको हो ।
यसमा वैदेशिक रोजागरीमा रहेका नेपालीहरूले अधिकतम १० कित्ताका दरले सेयर पाएका छन् । कुल आवेदकमध्ये ९७० जनाले मात्र गोलाप्रथाबाट १० कित्ता हात पारेका छन् ।
कम्पनीले सर्वसाधारणमा निष्काशन हुने ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता साधारण सेयर निष्कासनका लागि छुट्टाएको थियो । सोमध्येको १० प्रतिशत बराबरको ९ हजार ७ सय कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि माघ २२ देखि फागुन ८ गतेसम्मका लागि निष्काशन गरेको थियो।
जसमा १० कित्तादेखि १००० कित्तासम्म माग गर्ने १५ हजार ९१८ जना मध्ये ९७० जनालाई १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ । आइपीओमा आवेदन गरेका १४ हजार ९४८ जनाको हात भने खाली भएको छ ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि भने फागुन १८ गतेदेखि साधारण सेयर जारी गर्ने छ ।
तपाईको प्रतिक्रिया