३० मंसिर / अर्थ र व्यापार - धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा (दहचोक) सुरुङमार्ग निर्माणको प्रारम्भिक काम सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली असोज ४ गतेसुरुङमार्ग निर्माणको शिलान्यास गरेका थिए ।
पूर्वतयारीको काम लगभग सकिन लागेको आयोजना प्रमुख श्याम खरेलले जानकारी दिए ।
‘धादिङतर्फको भागमा मेसिनहरु लैजान बाटो बनाउने, झाडीहरु फाँडेर सफा गर्ने लगायतका काम सुरु भइसक्यो,’ खरेलले भने, ‘खन्ने काम थाल्न भने अझै केही समय लाग्छ ।’
आयोजनाका लागि आवास गृह र कार्यालय बनाउने लगायतका काम पनि भइरहेको छ । ठेकेदार जापानी कम्पनी ‘हाज्मा आन्दो’ ले सुरुङ खन्नका लागि मेसिनहरु ल्याउने प्रक्रिया अघि बढाएको छ ।
‘मेसिन ल्याउन आयोजनास्तरबाट सडक विभागमा प्रस्ताव पुगेको छ, त्यहाँ भौतिक पूर्वाधार मन्त्रालय हुँदै अर्थमन्त्रालयले स्वीकृत गर्नुपर्छ,’ खरेल भन्छन्, ‘त्यसपछि मेसिनहरु ल्याएर सुरुङ खन्ने काम सुरु गरिनेछ ।’
त्यसका लागि वैशाखसम्म लाग्ने अनुमान छ । खरेलले ठेकेदार कम्पनीले ४२ महिनाको समय पाएको भन्दै कार्यतालिका अनुसार नै काम भइरहेको बताए । ‘यो आयोजना गत नोभेम्बर १४ बाट चालु भयो,’ उनले भने, ‘अब ४१ महिनामा सुरुङमार्ग बनेर सञ्चालनमा आउँछ ।’
तपाईको प्रतिक्रिया