१ पौष /अर्थ र व्यापार - सरकारले २ सचिवको सरुवा गरेको छ । अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगाना र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव लालशंकर घिमिरेको सरुवा भएको छ ।
ढुंगानाको ठाउँमा घिमिरेलाई ल्याइएको छ भने घिमिरेको स्थानमा ढुंगाना जानेछन् । अर्थ मन्त्रालयमा आइतबार ढुंगानाको बिदाईको तयारी गरिएको छ । ढुंगाना सोमबारबाट प्रधानमन्त्री कार्यालय जानेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा ढुंगानाको चर्चा थियो । ढुंगानाको स्थानमा लक्ष्मण अर्याल र डा. बैकुण्ठ अर्यालमध्ये एकको संभावना थियो । घिमिरे अर्थ मन्त्रालयकै क्याडर हुन् । तत्कालीन् अर्थमन्त्री वर्षमान पुनसँग असझदारीपछि उनी अर्थ मन्त्रालयबाट बाहिरिएका थिए। घिमिरे पछिल्लो पटक अर्थको अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख थिए ।
अर्थमन्त्री डा. युवराज खतिवडासँग निकट रहेर काम गरेका ढुंगानालाई प्रधानमन्त्री कार्यालयमा लैजानुलाई अर्थपूर्ण मानिएको छ । विहीबारको मन्त्रिपरिषद बैठकले उनीहरुको सरुवा गरेको हो । सरुवाको सूचीमा अन्य सचिवहरु रहे पनि यसपटक दुई जनाको मात्रै सरुवा भएको छ ।
तपाईको प्रतिक्रिया