२४ मंसिर / अर्थ र व्यापार - स्वीकृति नलिइ गरिएको विदेशी लगानीबारे सम्बद्ध पक्षसँग उद्योग विभागले जानकारी माग गरेको छ । २१ दिनभित्र जानकारी गराउन विभागले सार्वजनिक सूचना नै जारी गरेको छ।
राष्ट्र बैंक र उद्योग विभागबाट स्वीकृति नलिई गरिएको लगानीको अवस्था यकिन गर्ने सरकारी रणनीतिअनुसार विभागले सक्रियता देखाएको हो । जारी सूचनाअनुसार उद्योगीहरूले उद्योगको नाम, ठेगाना, विदेशी लगानीकर्ताको नाम, देश र मिति खुलाएर विभागमा पेश गर्नु पर्नेछ।
नेपालमा स्वीकृति दिने प्रक्रिया सुरू हुनुपूर्व विदेशबाट लगानी ल्याएका उद्योगीहरूले अनिवार्य निवेदन दिन विभागले आग्रह गरेको छ। यसैगरी विदेशी लगानी स्वीकृतिपत्र वा सेयर खरिद(बिक्रीको विवरण पनि पेश गर्नु पर्नेछ।
यस्तै कम्पनी दर्ता प्रमाणपत्र, लगानी भित्रिएको प्रमाणपत्र र अन्य कुनै विवरण भए पेश गर्नु पर्नेछ। उद्योग मन्त्रालयअन्तर्गत गत कात्तिक १६ मा औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डले स्वीकृति नलिएका विदेशी लगानीलाई खोज्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार उद्योग मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईको नेतृत्वमा ८ सदस्यीय समिति पनि गठन भइसकेको छ। समितिले पनि छानबिनको काम पनि सुरू गरिसकेको छ।
तपाईको प्रतिक्रिया