९ असोज/अर्थ र व्यापार– चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनामा आयात २२ प्रतिशतले घटेको छ ।
भन्सार विभागका अनुसार अघिल्लो आर्थिक बर्षको पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक बर्षमा आयतमा २२.०७ प्रतिशतले गिरावट आएको हो ।
आयातमा उच्च गिरावट आएसंगै वैदेशिक व्यापार घाटामा समेत गिरावट आएको छ । यस अबधिमा निर्यातमा भने सामान्य वृद्धि देखिएको छ ।
चालु आर्थिक वर्षको साउन र भदौ महिनामा कुल वस्तू आयात १ खर्ब ७८ अर्ब ८४ करोड बराबरको भएको छ । अघिल्लो आर्थिक बर्षको दुई महिनामा वस्तु आयात २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ हाराहारीको थियो । तुलनात्मक रुपमा चालु आर्थिक बर्षको पहिलो २ महिनामा २२.०७ प्रतिशत आयातमा गिरावट आएको देखिन्छ ।
चालु आर्थिक बर्षमा वस्तु निर्यातमा भने २० अर्ब ४४ करोड ३० लाख रुपैयाँ बराबरको भएको छ । अघिल्लो वर्ष यसै अवधिमा निर्यात १८ अर्ब ५० करोड रुपैयाँको भएको थियो । यसरी हेर्दा, चालु आर्थिक बर्षको पहिलो २ महिनामा वस्तु निर्यात १०.२६ प्रतिशतले बढेको देखिन्छ ।
अघिल्लो आवको पहिलो २ महिनामा २ खर्ब ११ अर्ब रुपैयाँले व्यापार घाटा भएको थियो । चालु आवमा दुई महिनामा व्यापार घाटा १ खर्ब ५८ अर्ब ४० करोड रुपैयाँ बराबरको रहेको छ ।
आयातमा २२ प्रतिशतको उच्च गिरावट र निर्यातमा १०.२६ प्रतिशतले बृद्धी हुंदा चालु आर्थिक बर्षको पहिलो २ महिनामा वैदेशिक व्यापार घाटामा समेत कुल २४.९३ प्रतिशतको गिरावट आएको हो ।
चालु आवको दुई महिनामा कुल १ खर्ब ९९ अर्ब २८ करोडको वैदेशिक व्यापार भएको छ । अघिल्लो आवको दुई महिनामा कुल वैदेशिक व्यापार २ खर्ब ४८ अर्ब रहेको थियो । यो वर्ष कुल आकार नै १९.६४ प्रतिशतले घटेको छ ।
दुई महिनाको तथ्यांक हेर्दा वैदेशिक व्यापारमा निर्यातको हिस्सा १०.२६ प्रतिशत र आयातको हिस्सा ८९.७४ प्रतिशत रहेको छ । अघिल्लो बर्षको तुलनामा चालु आर्थिक बर्षको पहिलो २ महिनामा निर्यातको हिस्सामा ३७.५० प्रतिशतले सुधार भएको देखिन्छ ।
तपाईको प्रतिक्रिया