१४ माघ /अर्थ र व्यापार - विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र न्यायाधीशद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले सिक्टा सिँचाइ आयोजनाका इञ्जिनियर सरोज पण्डितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । विशेष अदालतबाट सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको मुद्दामा प्रमुख इञ्जिनियर सरोज पण्डित ८० लाख रुपैयाँ धरौटी राखेर तारिखमा छुटेका छन् ।
विशेष अदालतका रजिस्ट्रार भीमकुमार श्रेष्ठका अनुसार पण्डित आइतबार विशेष अदालतमा हाजिर भएका थिए। बहसपछि थुनछेकको आदेश अनुसार ८० लाख रुपैयाँ धरौटी अदालतले माग गरेको थियो । सो रकम धरौटी राखेर तारिखमा छुटेका हुन् ।
आयोगले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री एवम् ठेकेदार कम्पनी कालिका कन्सट्रक्सनका मालिक पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध साढे आठ अर्ब रुपैयाँ बिगो दाबीसहित गत मङ्सिर २१ गते अदालतमा मुद्दा दायर गरेको थियो ।
आयोगले पण्डितले ५९ करोड ३४ लाख ५२ हजार हिनामिना गरेको बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यही माघ २ गते पूर्वमन्त्री पाण्डे चार करोड रुपैयाँ धरौटीमा राखेर तारिखमा छुटेका थिए । सो आयोजनाको डिजाइनमा नै त्रुटि रहेको, मूल नहर भत्किएको, निर्माणमा खटिएका प्राविधिक, कन्सल्टेन्ट तथा निर्माण व्यवसायीले उचित निरीक्षण नगरेका आरोप अख्यिातरले लगाएको थियो ।
तपाईको प्रतिक्रिया