१६ माघ/ अर्थ र व्यापार - रेष्टुरेण्ट एण्ड बार एशोसिएसन रेबान काठमाडौ, पोखरा र सौराहले रेष्टुरेन्टहरूमा ग्राहकहरूमाथि लगाउँदै आएको दश प्रतिशत सेवा शुल्क हटाउन गरेको निर्णय एकदिनैमै तोडिएको छ । पोखरा रेबानका अध्यक्षकै होटलले दश प्रतिशत सेवा शुल्क लिएको पाईएको छ ।
माघ १४ गते सोमबार काठमाडौंमा सम्पन्न रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल, रेबान (काठमाडौ, पोखरा र सौराह) को भेलाले रेष्टुरेन्ट तथा बारहरुमा लगाउदै आएको सेवा शुल्क हटाउने निर्णय गरेको थियो ।तर निर्णय गरेको भोलिपल्टै पोखरा रेबानका अध्यक्ष भिमसेन भुजेलको होटल रानीवन आर्केडले भने सेवा शुल्क लिने गरेको भेटिएको छ । ग्राहकहरुको असन्तुष्टिलाई सम्बोधन गर्दै गुणस्तरीय सेवा दिने प्रतिबद्धता जनाएपनि पोखरा रेबानका अध्यक्षले आफैले हस्ताक्षर गरेको सहमति पालना नगरेको पाइएको हो ।
१२ बर्षअघि शान्ति प्रक्रियामा आएको तत्कालीन माओवादी र अन्य मजदुर संगठनको दबावमा सन २००६ मा होटेल एशोसिएसन र ट्रेड युनियनबीच ग्राहकबाट अनिवार्य रूपमा १० प्रतिशत सेवा शुल्क उठाउने निर्णय भएको थियो । यसरी आउने सेवा शुल्कमध्ये ६८ प्रतिशत सेवा दिने मजदूर र ३२ प्रतिशत रेष्टुरेण्ट मालिकले पाउने गरेका थिए ।
बिभिन्न उपभोक्ताबादी संघ सस्थाहरूको दवाबमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन ( रेवान)ले शुल्क हटाउने निर्णय गरेपनि यता मजुदरहरुले भने विरोध गरेका छन् । उनीहरूले निर्णय नसच्चिए काम बन्द गर्नेसम्म चेतावनी दिइसकेका छन् ।
तपाईको प्रतिक्रिया