३ माघ/ अर्थ र व्यापार - संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन झण्डै ७५ हजार कर्मचारीले अनलाइनमार्फत आफ्नो नाम दर्ता गराएका छन् । बुधबार राति १२ बजेसम्ममा झण्डै ७५ हजार कर्मचारीले समायोजनमा जान अनलाइन फारम दर्ता गरेको कर्मचारी समायोजन तथा संगठन महाशाखाका प्रमुख सहसचिव केदारप्रसाद पनेरुले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा धेरै कर्मचारीले स्थानीय तहमा समायोजन हुन फारम भरेका छन् । तीन लाख ४५ हजार २ सय २५ जनाले स्थानीय तह, ५८ हजार ६ सय २३ जनाले प्रदेश र ४६ हजार २ सय ७० जनाले संघमा समायोजन हुन फारम भरेका उनले जानकारी दिए ।
यस्तै ५ हजार भन्दा बढीले फाराम भरे पनि कुन तहमा जाने भनेर रोज्न बाँकी छ । सहसचिव पनेरुले समायोजन हुन आएका आवेदनका आधारमा आजैदेखि विवरण संकलन गरेर खटाइने कर्मचारीको तालिका बनाइने र त्यसको सेवा समूह सञ्चालन गर्ने जिम्मेवारी मन्त्रालयले लिने जानकारी दिए ।
मन्त्रालयले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ जना कर्मचारीको दरबन्दी कायम गरेको छ ।
तपाईको प्रतिक्रिया