१६ असार / अर्थ र व्यापार - नेपाल धितोपत्र बोर्डले दुई दिने अन्तराष्ट्रिय वित्तीय साक्षरता सम्मेलन गर्ने भएको छ । बोर्डले मंगलबार र बुधबार गर्न लागेको सम्मेलनमा अमेरिका, दक्षिण अफ्रिका, अष्ट्रेलिया, सिंगापुर, भुटान, थाईल्याण्ड चीन, भारत लगायतका देश तथा सार्क राष्ट्रका वित्तीय क्षेत्रका नियमनकारी निकायहरुका ४० जना प्रतिनिधिसहित १२५ जनाको सहभागीता रहने बोर्डले जनाएको छ ।
उक्त सम्मेलनमा बोर्डले दि अर्गनाइजेशन फर इकोनोमिक को–अपरेशन एण्ड डेभलपमेन्ट (ओसिइडी) अन्तर्गतको इन्टरनेशनल नेटवर्क अन फाइनान्सिएल एजुकेशन (आईएनएफई) सँगको सहकार्यमा उक्त कार्यक्रम गर्न लागेको हो । विश्वभरी नै वित्तीय साक्षरताको स्तर अभिवृद्धि गर्ने उद्देश्यले स्थापित उक्त संस्थामा हाल ६४ देशका ८६ संस्थाहरु पूर्ण सदस्य र ९५ देशका १७२ संस्थाहरु नियमित सदस्यको रुपमा रहेको बोर्डले जनाएको छ ।
सम्मेलनमा अर्थ मन्त्रालय, राष्ट्र बैंक, बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेञ्ज लि, अन्य धितोपत्र बजार सहभागी, बैंकर्स एसोशियसन, लगानीकर्ताका संघहरु लगायतका संस्थाहरुको पनि उपस्थिती रहने बताइएको छ ।
सम्मेलनमा नेपाल लगायत अन्य बिभिन्न अन्तर्रा्ष्ट्रिय जगत्का विज्ञहरुले वित्तीय साक्षरता, समावेशिता, वित्तीय ग्राहक सुरक्षा, वृद्ध जनसंख्याको वित्तीय समावेशिता, बाल्यकालदेखि वित्तीय जोखिमता कम गर्ने, ग्रामीण तथा शहरी जनसंख्याका वित्तीय आवश्यकता बुझ्ने, वित्तीय साक्षरतामा सुधार एवम् साना तथा मझौला उद्योगमा पहुँच वृद्धि गर्ने सम्बन्धमा विभिन्न सत्रहरु संचालन हुने बताइएको छ ।
तपाईको प्रतिक्रिया