२७ माघ /अर्थ र व्यापार - काठमाडौँको गोगंबुमा ठुलो परिमाणमा नक्कली नोट फेला परेको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले शनिवार राति नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको हो । गोंगबुस्थित गौमती सिर्पालीको घरमा डेरा गरी बस्ने पोमबहादुर कुँवरलाई नक्कली नोटसहित पक्राउ गरेको प्रहरी निरीक्षक मोहन विक्रम केसीले जानकारी दिए ।
नक्कली नोटको कारोबारमा संलग्न हिक्मत मियाँ भने फरार भएका छन् । प्रहरीले कुँवरको दराजबाट एक हजार दरका ११ वटा र मियाँको कोठाबाट १४१ वटा नक्कली नोट फेला पारेको हो । मियाँको खोजी भइरहेको निरीक्षक केसीले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा नक्कली नोट बजारमा पठाएको हुन सक्ने भएकाले नोटको कारोबार गर्दा ध्यान दिनसमेत अनुरोध गरेको छ ।
गत कार्तिममा महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मच्छेगाँउबाट कोठा लिएर कारखाना नै खोली नक्कली नोट छाप्नेलाई पक्राउ गरेको थियो । प्रहरीले नक्कली नोट छाप्ने मेसिन, नक्कली नोटका लागि आवश्यक कागज र नक्कली नोटसमेत बरामद गरेको छ । प्रहरीले उनीहरूबाट ३ लाख ७० हजार रुपैयाँको तयारी अवस्थामा रहेको नक्कली नोट बरामद गरेको थियो ।
तपाईको प्रतिक्रिया