२५ पुस /अर्थ र व्यापार - ललितपुर महानरगपालिकाले आफ्नो क्षेत्रभित्र निर्माण हुने सडकको कालोपत्रे १.५ इन्चको हुनुपर्ने नीति बनाएको छ । महानरगपालिकाले कालोपत्रे गरेको एक बर्ष पनि नटिकेको भन्दै गुणस्तरियता कायम गर्नका लागि कालोपत्रे (पीच) को मोटाई १.५ इन्च न्युनतम कायम गर्ने निर्णय गरेको हो ।
महानगर प्रमुख चिरिबाबु महर्जनले ललितपुरमा निर्माण हुने सडकमा निर्माण व्यवसायीसँग ठेक्का सम्झौतामै मापदण्ड अनिवार्य गरिने बताए । उनले सडक निर्माण वा कालोपत्रे गर्दा त्यो गुणस्तरीय छ वा छैन भनी ल्याब टेष्टको रिपोर्ट समेत निर्माण कम्पनीले अनिवार्य रुपमा दिनुपर्ने बताए ।
त्यसैगरी एक बर्षभित्र गरिएका कालोपत्रे उप्किए वा भत्किए के कारणले समस्या आएको हो त्यसको अध्ययन गरेर त्यही निर्माण कम्पनीबाट काम गराइने छ । यदि उसले नमाने बैंक ग्यारेण्टी जफत गरेर काम गरिने जानकारी दिए । ठेक्का नीतिमै डिफेक्ट लायविलिटी पिरियड (डिएलपी) १ बर्ष हुने भएकाले यसलाई प्रभावकारी रुपमा लागु गरेर निर्माण कम्पनीलाई जिम्मेवार बनाउन लागिएको महानगरपालिकाले जनाएको छ ।
अहिले नेपालमा एक लेयरमा २० एमएमदेखि ६० एमएमसम्मका सडक बनेका छन् । त्यसमा डिजाईन अनुसार दुई तीन लेयर पनि बनाउन सकिन्छ । १.५ इन्च भनेको करिव ४० एमएम हुन्छ । अब ललितपुरका भित्री सडकहरु पनि हालको भन्दा दोब्बर बाक्लो ( ४० एमएम) हुनेछ । जसको उदेश्य गुणस्तरीय सडक निर्माण गर्नु हो ।
तपाईको प्रतिक्रिया