१ माघ /अर्थ र व्यापार - प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधताले राष्ट्रिय एकता मजबुत बनेको बताएका छन् । माघे संक्रान्तिको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता नेपालको मौलिक पहिचान हो’, प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा भनेका छन, ‘विविधताबीचको यस्तो एकताको प्रवद्र्धन हामी सबैको साझा ध्येय हो ।’
सबै जात र समुदायको सहभागितामा निर्माण गरिएको संविधान कार्यान्वयन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान पूरा गर्न अग्रसर भएको प्रधानमन्त्रीले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । अभियान एक्लो प्रयासबाट सफल नहुने भन्दै उनले सहयोगका लागि सबैसँग आग्रह गरेका छन् ।
सरकार सबै जातजाति र समुदायका चाडपर्वको संरक्षणमा उत्तिकै संवदेनशील रहेको पनि प्रधानमन्त्रीले प्रष्ट पारेका छन् । नेपाल र नेपालीका यस्ता चाडपर्व पर्यटकीय आकर्षणका लागि पनि प्रभावकारी हुने भनाइ प्रधानमन्त्री ओलीको छ ।
तपाईको प्रतिक्रिया