३ मंसिर/अर्थ र व्यापार– चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सोल्टी होटल घाटामा गएको छ ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार ७ करोड ९३ लाख रुपैयाँ घाटामा गएको हो ।
कोभिड–१९ महामारीका कारणले बाह्य तथा आन्तरिक पर्यटक आगमन बन्द हुनु, कर्मचारी सेवासुविधा भुक्तानी तथा अन्य सञ्चालन खर्चका कारण होटल नोक्सानीमा गएको कम्पनीले जनाएको छ ।
गत वर्ष कम्पनीको वर्षभरीको आम्दानी एक अर्ब २३ करोड थियो । गत वर्षको पहिलो त्रैमासमा पनि कम्पनीको आम्दानी ३१ करोड ६४ लाख रुपैंयाँ रहेको थियो ।
चालु आर्थिक बर्षको पहिलो त्रैमासमा कम्पनीको कुल आम्दानी ५ करोड १३ लाख रुपैयाँमा खुम्चिएको छ । पहिलो त्रैमासमा होटलको कुल खर्च १३ करोड रुपैयाँ छ । यसले गर्दा होटल करिब ७ करोड ९३ लाख रुपैयाँ घाटामा गएको हो । होटलको अवकाशसहित सम्पूर्ण कर्मचारी खर्च मात्रै ६ करोड ८० लाख रुपैयाँ छ ।
होटलले नीतिगत तथा ब्यवसायीक कार्यकुशलतालाई पूर्ण क्षमतामा प्रयोग गर्दै, न्यूनतम सञ्चालन खर्चमा होटलका संरचनागत सुविधाहरुलाई पूर्ण क्रियाशील राख्दै कुल सञ्चालन खर्च घटाउनका लागि अपनाउनु पर्ने सबै ब्यवसायिक रणनीतिहरु अपनाउने जनाएको छ ।
तपाईको प्रतिक्रिया