६ माघ/अर्थ र व्यापार– जिटुजी मार्फत बंगलादेशबाट ल्याउन लागिएको ५० हजार मेट्रिक टन मल अब १५ दिनपछि नेपाल आउने भएको छ ।
कृषि सामाग्री कम्पनीका प्रवक्ता विष्णु पोखेरेलले करिब १५ दिनपछि मल प्याकेजिङको काम सुरू हुने भन्दै बंगलादेशले प्याकेजिङ गर्दै नेपाल पठाउने तयारी गरेको बताए । मल भारतका विभिन्न नाका हुँदै नेपाल भित्रने छ।
बंगलादेशबाट युरिया मल ल्याउन नेपाल कृषि सामग्री कम्पनी र बंगलादेशको ‘बंगलादेश केमिकल इन्ड्रष्ट्रिज’बीच एक महिनाअघि सम्झौता भएको थियो ।
सम्झौता अनुसार बंगलादेशबाट नेपालले चार लटमा युरिया मल आयात गर्ने छ । कृषि सामाग्री कम्पनीले मल आयात गर्नका लागि १० दिनअघि एलसी (परिपत्र) खोलेको थियो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव योगेन्द्र कार्कीले मन्त्रालयले आगामी दिनमा किसानलाई मलको अभाव नहुने गरी गृहकार्य गरिरहेको बताएकाछन् ।
हाल कृषि सामाग्री कम्पनीसँग डिएपी ५ हजार १ सय, युरिया ३ हजार र पोटास ७ हजार ८ सय मेट्रिक टन मौज्दात छ ।
तपाईको प्रतिक्रिया