२६ पुस/ अर्थ र व्यापार - नेपाल दूरसञ्चार प्राधिकरणमा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले निरिक्षण गरेका छन् । बिहीबार बिहान ९ः४५ बजे नै मन्त्री बाँस्कोटा कमलादीस्थित प्राधिकरणको कार्यलयमा पुगेका थिए । करीब ४५ मिनेट एनटिएमा बिताएका बाँस्कोटाले सबै कार्यकक्षमा पसेर प्रतिक्रिया लिएका थिए । ‘मन्त्रीले प्राधिकरणको सबै विभाग र शाखाको कार्यकक्षमा पसेर अपडेट लिनुभयो र सूचना प्रविधि तथा दूरसञ्चारको क्षेत्रमा परिवर्तन देखिने गरी काम गर्न निर्देशन दिनुभयो र सबैको हाजिरी विवरण जाँच गरेर जानुभयो’, प्राधिकरणका निमित्त कार्यलय प्रमुख पुरुषोत्तम खनालले बताए ।
अधिकारीका अनुसार, काम छिटो छरितो हुनुपर्यो भन्नेमा उनको जोड थियो । प्राधिकरणले अहिले गरिरहेका कामको अवस्था र समस्याहरुका बारेमा दुई दिनभित्र मन्त्रालयमा जानकारी गराउन भनेका छन् । प्राधिकरणको अध्यक्षबाट दिगम्बर झाले राजीनामा दिएपछि मन्त्री बाँस्कोटाले प्राधिकरणकै दोस्रो हैसियतका निर्देशक पुरुषोत्तम खनाललाई निमित्त कार्यलय प्रमुखको जिम्मेवारी दिएका छन् ।
अनुगमनका क्रममा मन्त्री बाँस्कोटाले दूरसञ्चार कम्पनीहरुको लाइसेन्स वितरण, ग्रामीण दूरसञ्चार कोष, दूरसञ्चार सेवाको गुणस्तर लगायतका विषयमा विशेष चासो दिएका थिए । प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनाललाई भने सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा सूचना प्रविधि क्षेत्रको काम गर्नका लागि भनेर काजमा तानेका छन् । आनन्दराज खनाललाई प्राधिकरणमै राख्दा कार्यबहाकको जिम्मेवारी उनैलाई दिनुपर्ने भएपछि बाँस्कोटाले यस्तो रणनीति अपनाएका थिए ।
गत भदौ २० मा दिगम्बर झालाई प्राधिकरणको अध्यक्ष नियुक्त गर्दा पनि मन्त्री बाँस्कोटा र मन्त्रीपरिषदकै सर्वत्र आलोचना भएको थियो । सत्तारुढ दल नेकपाको स्थायी समितिमा ४३ जना सदस्यले झा विरुद्ध ज्ञापन पत्र बुझाएपछि प्राधिकरणबाट झालाई राजीनामा गराइएको थियो ।
तपाईको प्रतिक्रिया