४ माघ/अर्थ र व्यापार – आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समयसीमा थप गर्नुपर्ने भन्दै अहिले निर्वाचन आयोगमाथि विभिन्न राजनीतिक दलहरुले दबाब दिएका छन् ।
२१ फागुनमा हुने पूर्व निर्धारित निर्वाचनको कार्यतालिका बमोजिम ६ माघमा तोकिएको मनोनयनका लागि समय अभाव हुनुका साथै नेपाली कांग्रेस समेत बिवादमा रहेकाले सार्नुपर्ने भन्दै दबाब आएको निर्वाचन आयोग स्रोतले जनाएको छ ।
उम्मेदवारी दिने समय सार्नकालागि नेपाली कांग्रेस शेरबहादुर देउवा समूह, नेकपा एमाले लगायतका दलद्वारा मनोनयन दर्ताको समय आगामी १५ माघदेखि मसान्तसम्म सार्न आग्रह गरेका छन् ।
आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेर मंगलबार नै सुनुवाइको पहिलो पेसी पाएपछि शेरबहादुर देउवा पक्ष पनि आयोग पुगेको छ । देउवाका तर्फवाट सर्वोच्चमा पेस भएको रिटको कपी नै लिएर मीनबहादुर विश्वकर्मा नेतृत्वमा देउवा समूह निर्वाचन आयोग पुगेको हो । उनीहरुले प्रमुख आयुक्तसहितलाई भेटेर मनोनयन दर्ता गर्ने ६ माघको मिति सार्न आग्रह गरेका हुन् ।
यसअघि निर्वाचन आयोगले दोस्रो विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको र त्यसमा चित्त नबुझेपछि आफूहरु अदालत गएकाले अदालतको पहिलो सुनुवाइपछि मात्र मनोनयन गर्ने व्यवस्था मिलाउन देउवा पक्षले आग्रह गरेको छ ।
आयोग स्रोतका अनुसार अहिले कांग्रेस, एमाले लगायतका दलले मनोनयन दर्ताको समय आगामी १५ माघदेखि मसान्तको दिनसम्म सार्न आग्रह गरेका छन् । यस्तो दबाबकाबीच आयोगले अहिलेसम्म मनोनयन दार्ताको मिति सार्ने विषयमा कुनै निर्णय नगरिसकेको छैन । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो जानकारी गराएका हुन् । ‘अहिले आयोगमा केही दलमा नेता पनि आउनुभएको छ , आयोगले अझैसम्म केही निर्णय गरेका छैन,’ भण्डारीले भने । केही समयको छलफल एवं राय लिएर मात्र निर्णमा पुगिने आयोगले जनाएको छ ।
तपाईको प्रतिक्रिया