१ फागुन/अर्थ र व्यापार – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडितहरुलाई न्याय दिन आफू सक्रियतापूर्वक लागेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तयार पारेको ‘सहकारी तथा लघुवित्त संस्थाको संकट र समाधानका उपाय’ नामक प्रतिवेदन मंगलबार बुझ्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन ।
उनले सहकारी पीडितलाई न्याय दिलाउन आफू सक्रियतापूर्वक लागिरहेको बताए । ‘यो मामिलामा म गम्भीर भएर लागेको छु । लाखौं बचतकर्ता ठगिएका छन्। उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छु । तपाईहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुंगाउन चाहन्छु, यसमा तपाईहरूको पनि सहयोग चाहियो,’ प्रधानमन्त्रीलाई उद्यृत गर्दै उनको सचिवालयले जनाएको छ ।
रास्वपाले उपसभापति डा.स्वर्णिम वाग्लेको नेतृत्वमा प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा समस्या समाधानका लागि कानून परिमार्जन, नियमनकारी संयन्त्रको परिचालन, प्रविधिको प्रयोगलगायत बुँदा समेटिएको रास्वपाले जनाएको छ ।
तपाईको प्रतिक्रिया