१३ पुस/अर्थ र व्यापार – कोरिया ईपीएस कार्यालय बालकुमारी अगाडि शुक्रबार बिहानैबाट परिक्षार्थी युवाहरुले गरेको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
प्रहरीको गोली लागेर घाइते भएका २३ वर्षीय सुजन राउतको उपचारका क्रममा किस्ट अस्पतालमा मृत्यु भएको उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले बताए । जुम्ला स्थायी घर भएका उनी भक्तपुर बस्दै आएका थिए ।
सो झडपमा परि प्रहरीको गोली लागेका अर्का एक जनाको पनि उपचार भइरहेको छ । कोरियामा पानीजहाज निर्माणसम्बन्धी कामका लागि लिइएको भाषा परीक्षामा अनुत्तीर्ण विद्यार्थीले उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा पनि सहभागी गराउन माग गर्दै ईपीएस कार्यालय बालकुमारी अगाडि प्रर्दशन गरेका थिए ।
सोही क्रममा प्रदर्शनकारीले भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका थिए । सो आगजनीपछि प्रदर्शनले उग्र रूप लिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी, अश्रुग्यास र केही राउन्ड गोली समेत चलाएको थियो । अझै प्रहरीले तनावग्रस्त सो क्षेत्रको प्रदर्शनलाई नियन्त्रणमा लिन सकेको छैन । प्रहरीले नियन्त्रणको प्रयास जारी रहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया