logo

गठबन्धन दलहरुबीच भागबन्डा मिलेपछि बल्ल भयो मन्त्रिमण्डल विस्तार, अर्थमन्त्रीमा महत,नवनियुक्त मन्त्रीहरूले लिए शपथ

    167   पटक पढिएको

१७ चैत/अर्थ र व्यापार– लामो समयको प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचन्ड’ नेतृत्वको सरकारमा सहभागी गठबन्धन दलहरुबीच मन्त्रिमण्डल विस्तारकालागि भागबन्डा मिलेपछि बल्ल देशको अर्थमन्त्रीका रुपमा डा.प्रकाश शरण महत नियुक्त भएका छन् । नेपाली कांग्रेसका प्रवक्ता एवं प्रतिनिधि सभाका सदस्य महतसहित ११ जना नयाँ मन्त्रीलाई शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन्।
हाल मुलुकको अर्थतन्त्रमा समस्या देखिएको बेला महत अर्थमन्त्री हुँदा धेरैले चासोको रुपमा हेरेका छन् । नवनियुक्त अर्थमन्त्री महत कक्षा ७ मा अध्ययनरत रहँदा नै नेपाल विद्यार्थी संघको आदर्शबाट प्रेरित भएर राजनीतिमा लागेका थिए ।
महत २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत संग्रहमा अग्र मोर्चामा रहेर काम गरेका प्रभावशाली नेता हुन । अर्थमन्त्री महतले २०४२ सालको सत्याग्रहमा सक्रिय भूमिका खेलेका थिए । त्यसबेला उनी नेपाल विद्यार्थी संघको महासचिव थिए ।
नेपाली कांग्रेसको नेतृत्वमा सुरु भएको २०४६ सालको जनआन्दोलनमा पनि महतले एक्सन कमिटीमा रहेर काम गरेका थिए । त्यसपछि २०५५/५६ देखि नेपाली कांग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गर्ने अवसर पाएका महत २०५९ देखि निरन्तर नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहेर काम गरिरहेका छन् ।
उनले २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन र २०७९ को मंसिरमा सम्पन्न प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनमा पार्टीको केन्द्रीय प्रचारप्रसार समितिको संयोजकको भूमिका समेत सफलतापूर्वक सम्पन्न गरेका थिए ।
२०६३ सालको अन्तरिम व्यवस्थापिकाको सदस्यको रुपमा व्यवस्थापिकाको यात्रा आरम्भ गरेका महतले पहिलो संविधानसभा २०६४ देखि २०६९ र दोस्रो संविधानसभा २०७० देखि २०७४ सम्म विधायकको रुपमा काम गरे ।
दोस्रो संविधान सभाले नै २००७ सालको जनक्रान्तिको आह्वान गर्दा नेपाली कांग्रेसका संस्थापक विपी कोइरालाले अघिसारेका नेपाली जनताले आफू शासित हुने विधान आफ्नै जनप्रतिनिधिबाट बनाउने प्रस्तावनालाई मूर्तरुप दिने सफलता पायो । जननिर्वाचित जनताका प्रतिनिधिहरुबाट संविधान निर्माण गराएर नेपालको राजनीतिक इतिहासलाई नयाँ मोड दिने कार्यमा पनि महतको महत्वपूर्ण योगदान छ ।
नेपालमा माओवादी बिद्रोह उत्कर्षमा रहेको बेलामा सरकारले २०५६ सालमा गठन गरेको माओवादी समस्या समाधान समितिको सदस्य सचिवको जिम्मेवारी समेत सम्हालेका थिए ।
उनलाई सरकारले २०५८ चैत्रदेखि २०५९ असोजसम्म राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त पनि गरेको थियो । उनलाई २०६१ जेठदेखि २०६१ माघ १९ सम्म परराष्ट्र मन्त्रालयको राज्य मन्त्रीको जिम्मेवारी सम्हाले । २०६३ देखि २०६४ सम्म माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गठित राष्ट्रिय शान्ति समितिका सदस्य रहेर काम गरेपछि उनलाई २०६४ साउनदेखि २०६५ जेठसम्म विभिन्न विद्रोही समूहसंग वार्ता गर्न गठित सरकारी वार्ता समितिको सदस्यको जिम्मेवारी पनि सुम्पिएको थियो ।
२०६६ देखि २०६७ सम्म (सन् २००९ देखि २०११ सम्म) उहाँ ऊर्जा मन्त्री बने । ऊर्जा क्षेत्रको जिम्मेवारी पाएको बेलामा नै अहिले राष्ट्रिय गौरवको रुपमा रहेको माथिल्लो तामाकोशी आयोजना स्वदेशी पूँजीबाट निर्माण गर्ने निर्णय भएको थियो । भूकम्प, नाकाबन्दी, बाढी पहिरो र अन्य अवरोधका कारण ढिलो भएपनि अहिले आयोजनाको निर्माण सम्पन्न भएको छ ।
यसले नेपाली नीति निर्माता, प्राविधिक, लगानीकर्ता संस्था र सर्वसाधारण लगानीकर्ताको पनि आत्मविश्वास बढाएको र यसले मुलुकको आर्थिक विकासमा ठूलो सघाउ पुर्याउने निश्चित रहेको उनको सचिवालयको दाबी छ । सोही अवधिमा नै नेपाल र भारतको बीचमा अन्तरदेशीय प्रशारण लाईन निर्माण गर्ने निर्णय भएको थियो । ढल्केवार–मुजफ्पुर ४०० के।भी। प्रशारण लाइनको निर्माणले नेपालको लोडसेडिङ्ख अन्त्य गरी सबै नेपालीलाई उज्यालोतिर लम्किन प्रेरित गरको यथार्थ यहाँ स्मरणीय हुन आउँछ ।
नेकपा माओवादी र नेपाली कांग्रेसको संयुक्त सरकार बनेको बेला २०७३ देखि २०७४ सम्म महतले परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पुनःपाए । त्यो समय नेपालको तराईमा भएको आन्दोलनले भारतले नेपालमा नाकाबन्दी गरेर नेपाल–भारत सम्बन्ध निकै तल्लो स्तरमा पुगेको अवस्था थियो ।
महत शिक्षा र योग्यताका हिसाबले पनि अब्बल नेतामा पर्छन् । उनले संयुक्त राज्य अमेरिकाको इलिनोइस राज्यको कार्बोन्डेलमा अवस्थित साउथर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी उपाधि हासिल गरेका छन् । उनले सोही राज्यको उर्बाना च्याम्पेनमा रहेको इलिनोइस विश्वविद्यालयबाट नीति अर्थशास्त्र ‘ पोलिसि इकोनोमिक्स’मा स्नातकोत्तर गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा नीतिगत तथा अनुसन्धान पत्रहरु प्रस्तुत गरेका महतका आर्थिक विकास,शान्ति प्रक्रिया, परराष्ट्र सम्बन्धमा विभिन्न लेखहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित भएका छन् ।
त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दा नेपाली कांग्रेसको पहिलो जननिर्वाचित सरकारले लिएको आर्थिक नीतिमा थेसिस गरेका डा. महतले “नेपाली कांग्रेस एण्ड नेशन बिल्डिड।” नामक पुस्तक पनि लेखेका छन् ।
विशेषगरि कांग्रेसका सभापति शेरबहादुर देउवाको आर्शिवादमा अर्थमन्त्री बनेका महत सहित नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् । प्रधानमन्त्री दाहालले कांग्रेसको सिफारिसमा चारजना,नेकपा एकीकृत समाजवादीको तर्फबाट २ जना तथा आफ्नो दल माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाबाट १/१ जनालाई मन्त्री नियुक्त गरेका हुन् ।
कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भए भने महत अर्थमन्त्री , रमेश रिजाल उद्योग, वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री भएकी छिन् ।
यसैगरि, जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री भएका छन् । यस्तै, एकीकृत समाजवादीका उपाध्यक्ष वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन् ।
माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन् । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रालय भने फेरिएको छ । यसअघि ११ पुसमा भौतिक पूर्वाधारमन्त्री भएका श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भिजिट भिसामा कडाई,खाडी मुलुक जाने व्यक्तिमाथि निगरानी बढाउन निर्देशन

सरकारले भिजिट भिसामा कडाई गरि अब खाडी मुलुकसहितका मुलुकमा जाने व्यक्तिमाथि निगरानी बढाउन अध्यागमन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु, परिणाम आजै

नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ ।

प्रधानमन्त्री दाहालले गरे मन्त्रिमण्डल विस्तार, नवनियुक्त मन्त्रीहरूले लिए शपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ नेतृत्वमा गठित मन्त्रिमण्डल विस्तार भएको छ ।

मनोरञ्जन

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।

कक्षा १२ उत्तिर्ण गरिन करिश्मा मानन्धरले

नायिका करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छन् । शुक्रबार प्रकाशित नतिजा अनुसार उनले ‘बी प्लस’ ग्रेडसहित १२ कक्षा उत्तिर्ण गरेकी हुन् । यस्तो रिजल्ट आएपछि नायिका मानन्धरले आफुले सोचेअनुसारकै नतिजा आएको बताएकी छिन् । उनका अनुसार दुईवटा विषयमा ए प्लस आएको छ भने समग्रमा बी प्लस आएर १२ कक्षा पास भएको छ ।