१९ फाल्गुन / अर्थ र व्यापार- दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान, विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने रु.एकाउन्न हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०७८’ लामो समय देखि नेपाली भाषा साहित्यको क्षेत्रमा दिएको योगदानका लागि भाषाविद चूडामणि बन्धूलाई र रू. पच्चिस हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७८’ टेलिभिजन पत्रकार तथा प्रस्तोता र पत्रकारिताको क्षेत्रमा विशेष योगदान दिएका वरिष्ठ पत्रकार भूषण दाहाललाई प्रदान गर्ने निर्णय गरिएको छ ।
यसअघि सो पुरस्कार साहित्यकारहरू प्रा. डा.गोविन्दराज भट्टराई , प्रा.डा.अभि सुवेदी, प्रा.डा. माधवप्रसाद पोखरेल, डा. विष्णुविभु घिमिरे र एस्पी कोइराला तथा पत्रकारहरू हरिबहादुर थापा, शिववहादुर कार्की, मोहन भण्डारी र किशोर नेपाललाई प्रदान गरिएको थियो ।
समालोचक प्राज्ञ सुवेदीका छोराद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको रू.पन्ध्र लाख अक्षय कोषको व्याजबाट प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिन्छ । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । यस वर्षका पुरस्कारहरू आगामी चैत महिनामा एक समारोहको आयोजना गरि समर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।
तपाईको प्रतिक्रिया