२८ कात्तिक / अर्थ र व्यापार – मुस्ताङको कोवाङमा आइतबार हिमपहिरो खसेको छ । मुस्ताङको थासाङ गाँउपालिका–३ स्थित कोवाङको याङदेल खर्क भन्ने ठाँउमा हिमपहिरो खसेको हो ।
हिमाल पारिको जिल्ला मुस्ताङको टुकुचे पिक अर्थात मानापाथी हिमालबाट हिउँ पहिरो खसेको हो । सो हिउँपहिरोबाट ठुलो मानवीय क्षति भएको विवरण भने अहिलेसम्म आएको छैन । त्यहाँ विशेषगरि, स्थानीयबासीको चरन क्षेत्र भएकाले जनावरलाई भने असर परेको हुन सक्ने प्ररम्भिक अनुमान गरिएको छ ।
हिमपहिरो गएको क्षेत्रको जानकारी लिन अहिले त्यहाँ प्रहरी परिचालन गरिएको छ । हिमपहिरोले मानवीय त्रास भने बढेको छ । सो क्षेत्रमा गएको हिमपहिरो अहिलेसम्मकै ठुलो भएको बताइएको छ । हिमपहिरोले भेटने र हावाको त्रासले त्यहाँको स्थानीय जनआदर्श अमरसिंह माविका विद्यार्थी र शिक्षकहरुको भागदौड नै मच्चिएको थियो । सोही भागदौडको क्रममा लडेर ९ जना विद्यार्थी र शिक्षकहरु घाइते भएका छन् ।
अहिले घाइते भएका उनीहरुलाई उपचारका लागि सदरमुकाम जोमसोम लगिएको छ । ठुलो आवाज सहित सो हिमपहिरोबाट निस्केको हावाको बेग र छर्राले गर्दा त्यस विद्यालयका विद्यार्थी र शिक्षकहरु डराएका हुन् । सो हिमपहिरोमा केही जंगली जनावर परेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
तपाईको प्रतिक्रिया