२० असार / अर्थ र व्यापार – निजि क्षेत्रका वायु सेवा कम्पनीहरुले आन्तरिक हवाइ भाडा दर घटाएका छन् । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएपछि वायु सेवा संचालक संघले हवाइ भाडा दर घटाएका हुन् । नागरिक उड्यन प्राधिकरणको स्वीकृति लिएर यही असार २१ गते बुधबारदेखि लागू हुने गरी हवाइ भाडादर घटाइएको छ ।
नयाँ भाडादर अनुसार अब काठमाडौंबाट विराटनगर जादाँ ७ हजार १ सय ४ रुपैयाँ तिर्नुपर्छ । पहिले विराटनगरको भाडा ७ हजार २ सय रुपैयाँ थियो । त्यस्तै भद्रपुरको ८ हजार ६ सय ७६, भैरहवाको ५ हजार ९ सय १३, धनगढीको १२ हजार १९ र नेपालको ८ हजार ३ सय ६५ रुपैयाँ पर्छ । भद्रपुरको पुरानो भाडा ८ हजार ७ सय, हो भने, भैरहवाको ६ हजार, धनगढीको १२ हजार २ सय र नेपालगंजको ९ हजार ५ सय थियो ।
पोखरा जान ४ हजार ७ सय रुपैयाँ तिर्नुपर्दथ्यो भने अब त्यहाँ जान ४ हजार ६ सय ३४ रुपैयाँ लाग्ने भएको छ । यसअघि ४ हजार रुपैयाँ लिदैँ आएको काठमाडौं जनकपुर उडानमा भने भाडा घटाएर ३ हजार ९ सय ४८ कायम गरिएको छ । सबैभन्दा कम दुरीको उडान रहेको सिमरा जाने भाडामा भने ४० रुपैयाँ मात्र घटेको छ । सिमरा जान ३ हजार ४५ रुपैयाँ लाग्थ्यो भने अब नयाँ भाडा अनुसार ३ हजार ५ रुपैयाँ र भरतपुर जान ३४ सय ५३ रुपैयाँ लाग्छ । भरतपुरको पुरानो भाडा ३५ सय थियो । तुलिङटारको भाडा ५७ सय रुपैयाँबाट घटाएर ५ हजार ६ सय २३ कायम गरिएको छ । माउन्टेन फ्लाइटको भाडामा पनि ११ हजारबाट १० हजार ८ सय ६२ मा झारिएको छ ।
तपाईको प्रतिक्रिया