२५ मंसिर/अर्थ र व्यापार – नेपाल उद्योग वाणिज्य महासंघ र भियतनाम चेम्बर अफ कमर्शबीच सहकार्य हुने भएको छ । नेपाल र भियतनामबीच दौत्य सम्बन्ध स्थापनाको ५० बर्ष पुगेको अवसरमा नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध बिस्तार गर्ने विषयमा छलफल भएको छ । सोही छलफलमा यस्तो सहकार्य गर्ने निणर्य भएको हो ।
बिहीबार भियतनामको राजधानी हनोइमा भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीसँगको छलफलमा नेपाली व्यवसायीहरूले नेपालमा पर्यटन, जलविद्युत्, कृषिलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानीका लागि आग्रह गरेका छन् ।
छलफलको क्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भियतनामका लगानीकर्ता समक्ष नेपाल र भियतनामबीच थप आर्थिक सहकार्यलाई अगाडि बढाउनका लागि आग्रह गरे ।
नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध ५० वर्ष पुगेको उल्लेख गर्दै अध्यक्ष ढकालले अब दुई देशबीच आर्थिक सहकार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । ‘दुई देशबीच आर्थिक सहकार्यको क्षेत्रमा ठूलो सम्भावना छ, म भियतनामका लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्दै नेपालबाट निर्यातको ठूलो सम्भावना रहेको जानकारी गराउन चाहन्छु’, ढकालले भने , ‘नेपालमा हस्तकला, चिया, कफी, जडीबुटी जस्ता उत्पादनको भियतनाममा राम्रो बजार सम्भावना भएकाले त्यसतर्फ पनि लगानी बढाउन म आग्रह गर्दछु ।’ उनले दुई देशका अर्थतन्त्र एकआपसमा पूरक बन्न सक्ने धारणा राखे ।
भियतनाममा कृषि उत्पादन, सी फूड, इलेक्ट्रोनिक्स लगायतका उत्पादनको नेपाली बजारमा सम्भावना रहेको बताउँदै अध्यक्ष ढकालले भने, ‘ नेपालमा प्रत्यक्ष विदेशी लगानीको वातावरण बन्दै गएको छ, कानून पनि लगानीमैत्री छन्, लाइसेन्स, भन्सार र कर प्रशासनमा सुधार भएको छ, साथै विदेशी लगानीको सुरक्षामा पनि सरकार सचेत छ । ’
नेपालमा पर्यटन क्षेत्रमा विशेष गरी होटल, रिर्सोट, केबलकार, साहसिक पर्यटन, वेलनेस सेन्टरहरमा क्षेत्रीय लगानी बढिरहेको उल्लेख गर्दै उनले भियतनामी लगानीकर्तालाई आफूहरु स्वागत गर्न चाहेको बताए
यसैगरी, महासंघका अध्यक्ष ढकालले भियतनामी टोलीलाई महासंघको आगामी वार्षिक साधारणसभामा सहभागी हुन र नेपालको व्यवसायिक वातावरण प्रत्यक्ष अवलोकन गर्नका लागि पनि निमन्त्रणा दिए ।
भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीका उपकार्यकारी अध्यक्ष न्गुयेन क्याङ भिनले आफूहरु पनि नेपालसँग थप आर्थिक साझेदारीका लागि इच्छुक रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघलाई भियतनाममा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले दुई देशबीच लगानी र व्यापारका क्षेत्रमा ठूलो सम्भावना रहेको बताए । आर्थिक साझेदारीलाई थप मजबुद बनाउनुपर्नेमा जोड दिँदै उनले भने, ’दुई देशबीच व्यापार र लगानीका क्षेत्रमा ठूलो सहकार्य छैन, यद्यपि यस क्षेत्रमा सहकार्यका लागि ठूलो सम्भावना छ, आगामी दिनमा पनि हाम्रो सहकार्य जारी रहनेछ ।’
त्यस अवसरमा थाइल्याण्ड तथा भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले नेपालमा विभिन्न क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको भन्दै नेपालमा लगानी बढाउनका लागि आग्रह गरे । नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्ष पुगेको उल्लेख गर्दै दुवै देशले व्यापार र लगानीका क्षेत्रमा भएको सम्भावना सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
पछिल्लो समय विश्वको अर्थतन्त्रमा नयाँ नयाँ चुनौती देखिएको उल्लेख गर्दै उनले दुवै देशले एकापसमा आर्थिक सहकार्य बढाउँदै लाभ लिनसक्नुपर्ने आवश्यकता औँल्याए । सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया