२३ मंसिर/अर्थ र व्यापार – देशभरका सबै भन्सार कार्यालयमा भन्सार जाँचपासको सम्पूर्ण काम ठप्प भएका छन् ।
भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा भन्सार एजेन्टहरूले कार्यालयमा पेन–डाउन गरेका कारण अहिले भन्सार जाँचपासका काम ठप्प भएका हुन् । आइतबारदेखि लागू भएको भन्सार ऐन– २०८२ का केही प्रावधानको विरोधस्वरूप महासंघले मुलुकभर भन्सार सेवा अवरुद्ध गरेको हो ।
महासंघका अनुसार नयाँ ऐनका प्रावधानले अन्तर्राष्ट्रिय व्यापार तथा भन्सार प्रक्रियालाई सहज बनाउनेभन्दा उल्टो भन्सार एजेन्टको पेशागत अधिकार, उद्योग–व्यवसाय र वैध व्यापारलाई नै हतोत्साहित गर्ने अवस्था सिर्जना भएको छ ।
भन्सार ऐन– २०८२ को मस्यौदा तयार पार्ने चरणदेखि नै महासंघले दण्ड–जरिवाना, इजाजतपत्र नविकरण, निलम्बन प्रक्रिया, बैंक जमानत, कम्प्युटर प्रणालीमा युजर–आइडी व्यवस्थापन, इन–कुट–आउट नोट प्रणाली र मालवस्तु जाँचपासलाई इजाजत प्राप्त भन्सार एजेन्टमै सीमित गर्ने लगायतका विषय समावेश गर्न माग गर्दै आएको थियो । तर, लागू भएको ऐनले अनावश्यक दण्ड–जरिवाना थपेको र तजबीजी अधिकार बढाएको महासंघको आरोप छ ।
महासंघले भन्सार जाँचपासमा निरन्तर देखिने ढिलासुस्ती, भन्सार स्वचालन प्रणालीका सर्भर समस्या, राजश्व भुक्तानी र क्वारेन्टाइनका जटिलता सम्बन्धमा भन्सार विभागलाई बारम्बार ध्यानाकर्षण गराए पनि समस्याको समाधान नभएको आरोप लगाएको छ । भन्सार एजेन्टहरूको पेन–डाउन आन्दोलन गत आइतबार वीरगञ्ज भन्सारबाट सुरु भएको थियो ।
दोस्रो दिन सोमबार भैरहवा भन्सार पूर्णरूपमा ठप्प रहेको थियो भने तेस्रो दिन मंगलबार देशभरका सम्पूर्ण भन्सार कार्यालयका सेवाहरू बन्द गरिएको महासंघले जनाएको छ । महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेले यस्तो जानकारी दिएका हुन् ।
जाँचपास रोकिँदा मुलुकभरका भन्सार कार्यालयबाट राजस्व असुलीमा प्रत्यक्ष असर परेको छ। उनले महासंघले नयाँ भन्सार ऐनले सिर्जना गरेका समस्या र पेशासँग सम्बन्धित मागहरू सम्बोधन नभए मंगलबार नै थप आन्दोलन कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया