९ पुस/अर्थ र व्यापार – चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पाँच महिनामा १ खर्ब १४ अर्ब ४८ करोड रुपैयाँ थपिएको हो ।
जबकी चालु आवको सुरुमा २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ सार्वजनिक ऋण थियो भने हाल २७ खर्ब ८८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । सो ऋण कुल ग्राहस्थ्य उत्पादनको ४५.६८ प्रतिशत हुन आउँछ । त्यसमा आन्तरिक ऋण १३ खर्ब १ अर्ब ६३ करोड रुपैयाँ र बाह्य ऋण १४ खर्ब ८६ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा डलरको मूल्यमा आएको वृद्धिले पनि ऋणको दायित्व थप भएको छ । तथ्यांक अनुसार डलरमा आएको वृद्धिले ७७ अर्ब ६६ करोड ८५ लाख रुपैयाँ दायित्व थपिएको छ ।
मंसिरमा मात्रै यस्तो दायित्व ३३ अर्ब ४४ करोड २७ लाख रुपैयाँले थपिएको छ । गत कात्तिक मसान्तसम्म डलरको मूल्यमा आएको वृद्धिले थपिएको ऋणको दायित्वको ४४ अर्ब २२ करोड ५८ लाख रुपैयाँ थियो । मंसिर मसान्तसम्म आउँदा त्यो ७७ अर्ब ६६ करोड ८५ लाख रुपैयाँ पुगेको हो । यस विदेशी ऋणतर्फ थपिएको दायित्व हो ।
विदेशी ऋण डलरमा भुक्तानी गर्नुपर्छ । पछिल्लो समय डलरको मूल्य बढ्दै आएपछि विदेशी ऋणको दायित्व पनि थपिएको हो ।
समीक्षा अवधिमा सरकारले एक खर्ब ७५ अर्ब १२ करोड ३१ लाख रुपैयाँ ऋण लिएको छ । जुन वार्षिक लक्ष्यको २९.४० प्रतिशत हो । सरकारले यो वर्ष ५ खर्ब ९५ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ ऋण उठाउने लक्ष्य लिएको छ । त्यसअनुसार अब ४ खर्ब २० अर्ब ५४ करोड रुपैयाँ ऋण उठाउन बाँकी छ ।
समीक्षा अवधिमा सरकारले आन्तरिक तर्फ वार्षिक लक्ष्यको ४०.७९ प्रतिशत अर्थात् १ खर्ब ४७ अर्ब ऋण उठाएको छ । यो वर्ष सरकारले ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋण प्राप्त गर्ने लक्ष्य राखेको छ । यसमा अब २ खर्ब १४ अर्ब ३३ करोड रुपैयाँ ऋण उठाउन बाँकी रहेको तथ्यांकले जनाएको छ ।
त्यस्तै, बाह्य ऋण परिचालनमा भने सरकार कमजोर देखिएको छ । यो वर्ष २ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ बाह्य ऋण उठाउने लक्ष्य राखेको छ । जसमा हालसम्म २७ अर्ब ४५ करोड रुपैयाँ मात्रै बाह्य ऋण प्राप्ति भएको छ । जुन वार्षिक लक्ष्यको तुलनामा ११.७५ प्रतिशत मात्रै हो । सरकारले अझै २ खर्ब ६ अर्ब २० करोड रुपैयाँ बाह्य ऋण प्राप्ति गर्न बाँकी रहेको छ ।
चालु बजेटमा सरकारले ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । यसमध्ये वर्षका पाँच महिनासम्ममा एक खर्ब ६७ अर्ब रुपैयाँ भुक्तानी गरेको छ । तथ्यांक अनुसार आन्तरिक ऋणमध्ये मंसिरसम्ममा एक खर्ब ३७ अर्ब ६८ करोड रुपैयाँ भुक्तानी गरिएको छ ।
तपाईको प्रतिक्रिया