५ असोज/अर्थ र व्यापार – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष दसैंका लागि खसी–बोका र च्यांग्रा नबेच्ने भएको छ । दसैंकालागि कम्पनीले सुपथमूल्यमा छुटसहित हरेक वर्ष विभिन्न जिल्लाबाट खसी–बोका र च्यांग्रा संकलगरि काठमाडौं ल्याएर सहुलियत दरमा बेच्दै आएको थियो । तर, यसपटक जेनजी आन्दोलनकालाई कारण देखाएर कम्पनीले सुपथ मूल्य पसलमात्रै चलाउने भएको छ ।
यो वर्ष राजनैतिक र भौगोलिक कारणले चौपाया बिक्री कारोबार गर्न सम्भव नभएको कम्पनीले जनाएको छ । गत २३ र २४ भदौको जेनजी आन्दोलनले गर्दा खसी–बोका र च्यांग्रा खरिद गरेर ल्याउन अन्योल भएकाले नभ्याइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिए ।
देशभर भएको आन्दोलनले गर्दा खरिद प्रक्रियाका लागि तयारी कम भएको र दसैं पनि चाडै भएकाले राजमार्गमा पहिरो गइरहने त्रास भएकाले यस्तो समयमा चौपाया खरिद गरेर ल्याउदा बाटोमा रोकिने भन्दै खाद्य कम्पनीले दसैंमा खसिबोका विक्री गर्न नसकिएको बताएको हो । यस्तो असहज अवस्थाकाबीच कम्पनीमा ल्याएका चौपाया बिक्री भएन भने लामो समयसम्म राख्नुपर्ने बाध्यता रहन्छ भन्दै कम्पनीले दसैंमा खसिबोका ल्याएर नबेच्ने निणर्य गरैको जनाएको छ ।
गत वर्ष कम्पनीले ल्याएका च्यांग्रा सबै बेच्न दसैंमा कठिन परेको थियो । यसपटक खरिद गरेर ल्याउनुपर्ने बेलामा कम्पनीलाई आन्दोलनका कारण समय अपुग भएको कम्पनीले जनाएको छ । देशको असहज परिस्थितले व्यापारीले खसी–बोका र च्यांग्रा लागतभन्दा बढी नलिने हो भने उपभोक्तालाई राहत हुने सो कम्पनीले जनाएको छ ।
कम्पनीले अघिल्लो वर्ष जस्तै २ हजार खसी–बोका र च्यांग्रा बिक्री गर्ने निर्णय गरेको थियो । यो खरिदका लागि करिब ४ करोड रूपैयाँ भन्दा बढी बजेट छुट्यापएको थियो । गत वर्ष कम्पनीले प्रतिकेजी ६ सय ६० रूपैयाँमा खसीबोका बिक्री गरेको थियो ।
खसीबोका र च्यांग्राको खरिदका लागि जिल्लाहरुमा समेत समन्वय गरिसकेको कम्पनीले बिक्रीका लागि पहिलो पटक अनलाइन बुकिङ समेत खुल्ला गरेको थियो । अनलाइन बुकिङमा ४० वटा खसीबोका र च्यांग्रा बुकिङ भएको थियो ।
बुकिङ गरेकालाई पेस्की रकम अब कम्पनीले फिर्ता गर्ने भएको छ । हाल कम्पनीले देशभर १ सय ११ ठाउँमा बिक्री कक्षबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया