logo

आर्थिक गतिविधि बढाउने मौद्रिक नीति सकारात्मक : परिसंघ

    71   पटक पढिएको

३० असार /अर्थ र व्यापार – नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिलाई आर्थिक गतिविधि बढाउने सकारात्मक कदमको रूपमा लिएको जनाएको छ।
परिसंघले चालु पूँजी कर्जा परिमार्जन, कर्जा वर्गीकरण पुनरावलोकन, र साना तथा मझौला उद्यमका लागि ब्याजदरमा प्रिमियम लाग्ने व्यवस्थालाई सकारात्मक कदम भनेको छ।
मौद्रिक नीतिले निजी क्षेत्रको लगानी प्रोत्साहन, ब्याजदर घटाउने, र कर्जा विस्तार लक्ष्य राखेको भन्दै परिसंघले आगामी दिनमा थप निर्देशन आउने विश्वास व्यक्त गरेको छ।
२९ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले आर्थिक गतिविधि बढाउने अपेक्षा नेपाल उद्योग परिसंघले गरेको छ ।
चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनलाई उद्योग-व्यवसायको प्रकृति र कर्जा भुक्तानी–आम्दानी चक्रका आधारमा परिमार्जन गर्ने घोषणा सकारात्मक रहेको परिसंघको भनाइ छ ।
यद्यपि, चालु पूँजी कर्जा आवश्यक हुने उत्पादनमूलक उद्योग, निर्माण क्षेत्र लगायत व्यवसायका लागि समेत हुने गरी परिमार्जन गरिनुपर्ने परिसंघको सुझाव छ ।
विद्यमान कर्जाको वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था पनि अध्ययन गरेर पुनरावलोकन गर्ने, ग्राहकको क्रेडिट स्कोरका आधारमा समेत कर्जा प्रदान गर्न दिने नीति अवलम्बन गर्ने विषयलाई परिसंघले सकारात्मक लिएको छ ।
हुलाकी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग आसपासका उद्योग–व्यवसायको ३ करोडसम्मको कर्जाको ब्याज आधारदरमा २ प्रतिशत प्रिमियम लाग्ने गरी दिने र त्यस्तो कर्जालाई साना तथा मझौला उद्यमका लागि तोकिएको क्षेत्रको कर्जामा गणना गर्न दिने भनिएको छ । यसले ३ करोडसम्मको कर्जा लिने साना तथा मझौला उद्यमीलाई विद्यमान अप्ठेरो अवस्थाको सामना गर्न सहयोग गर्ने परिसंघको भनाई छ ।
वैदेशिक रोजगारीमा जाने युवाले लिएको ३ लाखसम्म र महिलाले लिएको ५ लाखसम्मको कर्जालाई विपन्न वर्गको कर्जामा गणना गर्न दिने व्यवस्थाले पूँजी दबाबमा रहेका बैंकलाई थप लगानीका लागि केही सहजता प्रदान गर्ने विश्वास लिइएको छ ।
पूर्वाधारमा लगानी गर्ने गरी स्थापित संस्थाले जारी गर्ने डिबेन्चरमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्न सक्ने व्यवस्थाले पूर्वाधारमा रहेको लगानीको कमी सुधार्न आंशिक सहयोग गर्ने विश्वास लिइएको छ ।
लघुवित्तले १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) बाँड्न लगाइएको अंकुशमा पुनरावलोकन गर्ने भनिएको छ । यसले लगानीकर्ताको हातमा जाने पैसा (नगद लाभांश) बढ्ने र माग वृद्धिमा थोरै भए पनि सहयोगी हुने परिसंघले जनाएको छ ।

‘मौद्रिक नीतिले कुल स्थिर पूँजी निर्माणमा निजी क्षेत्रको हिस्सा घट्दै गएको तथ्य आत्मसाथ गरेको छ । बजार मागमा संकुचनका कारण नै निजी क्षेत्रको लगानी पनि खुम्चिँदै गएको हो,’ परिसंघले भनेको छ, ‘यसैले उपभोक्ताको मनोबल सुधारेर माग बढाउने र पूँजी निर्माणमा निजी लगानी बढाउन प्रोत्साहित गर्ने गरी राष्ट्र बैंकले निर्देशन/मार्गदर्शन ल्याउने विश्वास छ ।’
ब्याजदर करिडोरको माथिल्लो सीमा तथा तल्लो सीमा र नीतिगत दरलाई क्रमश: ६.५ प्रतिशतबाट ६, ३ बाट २.७५ र ५ बाट ४.५ प्रतिशतमा झारिएको छ । यसले ब्याजदरलाई माथि जान नदिने र अहिलेभन्दा थप घटाउन र कर्जा माग बढाउन मद्दत गर्ने परिसंघको भनाइ छ ।
राष्ट्र बैंकले ऋणपत्र निष्कासन गर्ने भनिएको हुँदा यसले बजार शिथिल भएर लगानीका विकल्प साँघुरिएको अवस्थामा लगानीकर्तालाई विकल्प दिनेछ । यसले बैंकिङ प्रणालीमा रहेको संरचनागत तरलता व्यवस्थापनमा पनि मद्दत गर्ने विश्वास लिइएको छ ।
बैंक तथा वित्तीय संस्था स्वनियमनमा रही ऋणीको परियोजना, ज्ञान, सिप र क्षमता विश्लेषणलाई उच्च प्राथिमकता दिएर कर्जा दिन सक्ने मौद्रिक नीतिमा भनिएको छ । केन्द्रीय बैंक खास उद्देश्यभन्दा बढी माइक्रो म्यानेजमेन्टमा केन्द्रित भएको आरोप लागिरहेका बेला बैंकहरूलाई स्वनियमनमा बस्दै स्वविवेकमा कर्जा प्रवाह गर्न दिएर राष्ट्र बैंकले सुपरीवेक्षणमा ध्यान दिने संकेतलाई सकारात्मक लिइएको छ ।
मौद्रिक नीतिले निजी आवासीय घर निर्माण/खरिदका लागि बैंक कर्जाको सीमा २ करोडबाट ३ करोड पुर्‍याउने, पहिलो पटक घर खरिदकर्ताका लागि कर्जा मूल्य अनुपात ८० प्रतिशत र अन्य होम लोनका हकमा यो अनुपात ७० प्रतिशत कायम गर्न भनिएको छ ।
यसले बजार मनोविज्ञानमा सुधार गर्न र निर्माण क्षेत्र तथा यससँग अन्तर सम्बन्धित निर्माण सामग्रीको माग बढाउन मद्दत गर्ने एवं यसले सरकारको राजस्व संकलनमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास परिसंघको छ ।
यस्तै सेयर धितोमा दिइने एकल ग्राहक कर्जा सीमा १५ करोडबाट २५ करोड पुर्‍याउने घोषणाले पूँजीबजारलाई प्रोत्साहन दिने जनाइएको छ ।
मौद्रिक नीतिले आगामी आव निजी क्षेत्रतर्फ १२ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य राखेको छ । चालु आव १२.५ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखिऐकोमा जेठ मसान्तसम्म साढे ८ प्रतिशत हाराहारी मात्रै छ ।
आगामी आव ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने वित्तीय नीतिको लक्ष्यसमेत रहेको हुँदा सोही अनुरूप केन्द्रीय बैंकले आगामी दिनमा अन्य आवश्यक नीति लिने विश्वास समेत परिसंघको छ । माथि उल्लेख गरिएका विषय सम्बोधन गर्ने गरी राष्ट्र बैंकबाट निर्देशन जारी हुने र बैंक ब्याजदर निर्धारणमा आधार दरको विद्यमान अभ्यासबाट माथि उठ्दै एमसीएलआर र ईबीएलआरमा जानुपर्ने, निर्देशित क्षेत्रको कर्जा लगानी सीमा घटाउँदै जानुपर्ने लगायत सुझाव आगामी दिनमा सम्बोधन हुने विश्वास परिसंघको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।