२१ फागुन/अर्थ र व्यापार – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ । अर्थ मन्त्रालयले बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मातहतका विभागसँग छलफल गरेको जनाएको छ।
छलफलको क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत १५ फागुनमा मन्त्रालयले जारी गरेको ८ बुँदे मार्गदर्शन स्मरण गराउँदै पूर्वतयारी नभएका आयोजना प्रस्ताव नगर्न र राष्ट्रिय गौरवका आयोजनालाई उच्च प्राथमिकतामा राखि पर्याप्त बजेट प्रस्ताव गर्न आग्रह गरे ।
यसैगरी, नले बजेट अनुशासित र यथार्थपरक ल्याउने भन्दै त्यसका लागि आफूलाई विषयगत मन्त्रालयको सहयोग चाहिने बताए । ‘बीच बीचमा रकमान्तर र संशोधन गर्न नपर्ने तथा कार्यान्वयनमा समस्या नआउने गरी कार्यक्रम प्रस्ताव होस्,’ अर्थमन्त्री पौडेलले भने ।
मन्त्री पौडेलले भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र सचिव केशवकुमार शर्मालाई विपद्पछिको पुनर्निर्माणलाई प्राथमिकता दिन पनि आग्रह गरे । ‘कार्यान्वयन हुन नसक्ने र कम प्राथमिकताका आयोजनाहरुलाई स्थगन गर्नुहोला, कार्यान्वयन योग्य योजना मात्र समावेश गर्न आग्रह छ । साना योजना रोकेर क्रमागत योजनाहरुको संख्या घटाउन पनि अनुरोध छ,’ पौडेलले भने ।
पूर्वतयारी सम्पन्न भएका र अत्यन्तै आवश्यकता महसुस गरिएका आयोजना मात्र समावेश गर्न निर्देशन दिंदै उनले विपद्पछिको पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए । सो छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा.शिवराज अधिकारी पनि थिए । आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा अर्थ मन्त्रालयले गत १५ फागुनमा ८ बुँदे मार्गदर्शन जारी गरेको थियो । सोही मार्गदशन अनुरुप अहिले अर्थमन्त्रालयले सम्बन्धीत निकार्यहरुसँग छलफलको कामलाई तिब्रता दिएको जनाएको छ ।
तपाईको प्रतिक्रिया